जेनजीको हत्याबारे पारदर्शी रुपमा छानबिन गर्न माग

काठमाडौं, भदौ २४ गते ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले नेपालमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीको राज्यले गरेको हत्याबारे छिटो र पारदर्शी छानबिनको माग गरेको छ।

सोमबार उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविना शाम्दासानीले नेपालको जेनजी आन्दोलनमाथि प्रहरी प्रशासनले गरेको हिंसामाथि धारणा राख्दै यस्तो बताएकी हुन् ।

‘हामी नेपालमा सोमवार प्रदर्शनकारीहरूको हत्या भएको तथा घाइते भएको घटनाबाट स्तब्ध भएका छौँ र छिटो तथा पारदर्शी छानबिनको माग गर्दछौँ,’ प्रवक्ता शाम्दासानीले भनिन् ।

भ्रष्टाचारविरुद्ध तथा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायले अनावश्यक वा अत्यधिक बल प्रयोग गरेको गम्भीर आरोपहरू उच्च आयुक्तको कार्यालयले प्राप्त गरेको पनि उनले बताइन् ।

‘सबै सुरक्षा निकाय तथा कानून पालना गराउने अधिकारीहरूले बल र हातहतियार प्रयोग गर्ने आधारभूत सिद्धान्तहरूलाई पालना गर्नुपर्छ,’ उनले भनिन् ।

शान्तिपूर्ण भेला हुन पाउने तथा अभिव्यक्ति स्वतन्त्रताको नागरिक अधिकारको सम्मान गर्न मात्रै नभई त्यसको सुनिश्चितताका लागि समेत उनले आग्रह गरेकी छन् ।

‘नेपालमा जीवन्त लोकतन्त्र तथा सक्रिय नागरिक समाज छ । युवाहरूको चिन्तालाई सम्बोधन गर्न संवाद नै सर्वोत्तम माध्यम हो,’ उनले भनेकी छन् । सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी सरकारी निर्णयमा पुनर्विचार गर्न पनि उच्चआयुक्तको कार्यालयले आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको