नेता- कार्यकर्तालाई योगेश भट्टराईले सम्बोधन गर्दै जारी गरे १० बुँदा

काठमाडौं, भदौ २५ गते ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको पुनर्गठन गरेर अघि बढ्नुपर्ने भन्दै नेता-कार्यकर्तालाई १० बुँदे सुझाव जारी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पछिल्लो घटना क्रमको विश्लेषण गरेर कमजोरीको समीक्षा गर्न पार्टी नेता र कार्यकर्तालाई प्रस्ताव गरेका छन् ।

त्यस्तै, गल्तीप्रति आत्मालोचना गरेर अघि बढ्नुपर्ने उनले भनेका छन् ।  साथै, उत्तेजनामा आएर गरिने निर्णयले सही ठाउँमा नपुर्‍याउने उनको तर्क छ ।

भट्टराईले जेन जी समूहले अघि सारेको भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्नसमेत आग्रह गरेका छन् ।

यस्तो छ योगेश भट्टराईको १० बुँदे सुझाव

प्रिय कमरेडहरू,

हामी यति बेला इतिहासकै गम्भीर संकट अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौं । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउँदैन ।

तसर्थ विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरौं। हामीबाट भएका कमजोरीको समीक्षा गरौं। गल्तीप्रति आत्मालोचन गरौं ।

  • पार्टी सङ्गठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारीपूर्वक गरौं, जसले हाम्रो पार्टीको एकता कायम गरोस् ।
  • पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौं ।
  • पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्ण रूपमा पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।
  • जनतामा जाऊँ, जनतालाई सुनौं र त्यसअनुसार निर्णय गरौं ।
  • लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानुनको शासन जवजको आत्मा हो, यसबाट दायाँ÷बायाँ नजाऔं ।
  • खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौं ।
  • हिमाल, पहाड, तराई, सबै जात, जाति र भाषा–भाषीबीचको एकतालाई बलियो बनाऔं ।
  • देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप निकास दिनुपर्दछ। विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं ।
  • जेन जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं । सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको