इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

न्यूयोर्क, असोज ४ गते ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित एक अन्तर्वार्तामा महासचिव गुटेरेसले पछिल्लो समय इजरायलले कब्जा गरिरहेको पश्चिमी किनारको विषयमा गम्भीर चिन्ता व्यक्त गरे ।

उनका अनुसार, यो क्षेत्रको विस्तार अवैध हो र त्यसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट आवाज उठ्नुपर्छ । उनले भने( ‘हामीले इजरायलको सम्भावित प्रतिशोधको डर मानेर चुप लाग्नु हुँदैन । यस्ता कार्यहरू रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक छ ।’

गुटेरेसले गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटबारे समेत गहिरो चिन्ता व्यक्त गरे । उनकाअनुसार गाजामा हाल देखिएको मृत्यु, भोकमरी, औषधिको अभाव र आश्रयको अभाव अत्यन्तै दुःखद र असह्य छ ।

‘यो मेरो महासचिवको कार्यकालमा मात्र होइन, जीवनभर देखिएको सबैभन्दा भयावह मानवीय अवस्था हो,’ उनले भने ।

उक्त सन्दर्भमा फ्रान्सको पहलमा १० देशले संयुक्त राष्ट्रको आगामी महासभामा प्यालेस्टाइनी राज्यलाई मान्यता दिने तयारी गरिरहँदा इजरायलले त्यसको कडा विरोध जनाउँदै पश्चिमी किनारमा औपचारिक रुपमा कब्जा जमाउने चेतावनी दिएको छ ।

यसबारेमा गुटेरेसले भने, ‘हामी यस्ता चेतावनीबाट नडराई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पक्षमा उभिनुपर्छ ।’ एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको