गण्डकी, कार्तिक २ गते ।
गोरखाको आँप पीपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) र बागलुङको धवलागिरि अस्पतालमा नर्सिङ विषयको पढाइ सुरु गर्ने गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने गरी गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको सहकार्यमा प्रमाणपत्र तहमा ती विषयको पठनपाठन सुरुआत गर्ने निर्णय गरेको थियो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालगत्तै गत साउनदेखि नै पढाइ सञ्चालन गर्ने गरी प्रदेशको स्वास्थ्य मन्त्रालय र सिटिइभिटीले आवश्यक बजेटसमेत विनियोजन गरेको थियो । स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ढिलो प्रक्रिया सुरु हुँदा यस वर्ष नर्सिङ र एचएको पढाइ सञ्चालन गर्न नसकिएको बताए ।
“दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि अन्य स्रोत व्यवस्थापनमा पनि हामी तयारी अवस्थामा थियौँ, तर अनुमति लिनेलगायतका प्रक्रियामा ढिलो भयौँ”, उनले भने, “चिकित्सा शिक्षा आयोगमा सिट निर्धारणको प्रक्रिया भर्खर सुरु हुँदै थियो, यही बीचमा जेनजी आन्दोलन भयो, थप काम अगाडि बढ्न सकेन ।” स्वास्थ्य मन्त्री पाठकले आउँदो आवदेखि पढाइ सुरु गर्ने गरी प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिइने बताए ।
यस विषयमा संघको शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीसँग निरन्तर पहल गरिरहने उनको भनाइ छ ।
नर्सिङ र एचएको पढाइ सुरु गर्न चालु आवमा स्वास्थ्य मन्त्रालयले रु। एक करोड बजेट विनियोजन गरेको स्वास्थ्य मन्त्री पाठकले जानकारी दिए । दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानवसंसाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेका उनको भनाइ छ ।
मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई हालै सय शय्यामा स्तरोन्नति गरिएपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो । एचए पढाउने तयारी भइरहेको गोरखाको आँप पीपल अस्पताल पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ । स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका(४ स्थित ‘सिटिइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्ने गरी तयारी गरिएको थियो । गोरखाको आँपपीपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्ष मात्र प्रदेश सरकार मातहत ल्याइएको थियो । यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको थियो । प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा सिटिइभिटीको उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालय तहबाट भएको पटक पटकको छलफलपछि प्रदेश सरकारले उक्त निर्णय गरेको थियो ।
न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिने गरी तयारी गरिएको थियो । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययन अध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठुलो रकम खर्चेर पोखरालगायत ठुला सहरमा जानुपर्ने बाध्यता छ ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको अवस्थामा यी विषयको अध्ययन अध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्री पाठकले बताउनुभयो । यसबाट जनशक्ति पलायनलाई रोक्न र विद्यार्थीको रोजगारीको सुनिश्चितताका लागि मद्दत पुग्ने उनको भनाइ छ ।








