परिवर्तनको यात्रामा सहकार्य गर्न पौडेलको आग्रह

काठमाडौँ, माघ ९ गते ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेका छन् । शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले आमकार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएकाले अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैलाई आग्रह गरेका हुन् ।

महामन्त्री पौडेलले कांग्रेसभित्र आफूले विगतमा पार्टी रुपान्तरणको विषयलाई पैरवी गरिरहेको भन्दै अहिले सोहीअनुसार भएकाले देश परिवर्तनको यात्रामा सहकार्य गर्न आग्रह गरे । ‘हामीले नेतृत्व र नीति परिवर्तनका विषय निरन्तर उठाइरह्यौँ, आज विशेष महाधिवेशनमार्फत पार्टीमा नेतृत्व र नीति दुवै परिवर्तन भएको छ’, उनले भने, ‘हामीले कांग्रेसमात्र परिवर्तन गर्न खोजेका होइनौँ, देशलाई विकास गर्दै सकारात्मक परिवर्तन गर्न खोजेका हौँ ।’

उनले सबैको चाहनाबमोजिम पार्टी सभापति गगनकुमार थापालाई २१ फागुनको निर्वाचनपश्चात् कांग्रेसले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गरेकाले देश परिवर्तनका निम्ति आफूहरूको निर्णयमा आममतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उनको भनाइ छ । पूर्वमन्त्रीसमेत रहेका पौडेलले देश परिवर्तनका निम्ति कांग्रेसको निर्णयमा आममतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको