महेन्द्रनगर, माघ १० गते ।
कुष्ठरोगीको संख्या शुन्यमा झार्न सचेतना आवश्यक रहेकामा जोड दिइएको छ । शनिवार जनकपुरधाममा ७३औँ विश्व कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका कुष्ठरोग अधिकृत राजवीर यादवले कुष्ठरोगको अवस्था, लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी गराए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा प्रतिएक लाख जनसंख्यामा नयाँ कुष्ठरोगीको दर आठ दशमलव १६ रहेको छभने मधेस प्रदेशमा उक्त दर १३ दशमलव ६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो ।
यस्तै, प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप दर नेपालमा शून्य दशमलव ८८ र मधेस प्रदेशमा एक दशमलव २८ रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । नयाँ बिरामीमध्ये ०–१४ वर्ष उमेर समूहका बालबालिकाको अनुपात नेपालमा तीन दशमलव ७८ प्रतिशत र मधेस प्रदेशमा चार दशमलव ६७ प्रतिशत रहेको जानकारी दिइयो ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नयाँ बिरामीमध्ये असमर्थताको तह–२ भएका बिरामीको अनुपात नेपालमा छ दशमलव ३९ प्रतिशत र मधेस प्रदेशमा छ दशमलव ७७ प्रतिशत रहेको छ । यद्यपि, मधेस प्रदेशमा ०–१४ वर्ष उमेर समूहका तह–२ असमर्थता भएका नयाँ बिरामी शून्य रहेको जनाइएको छ । नयाँ बिरामीमध्ये महिलाको अनुपात नेपालमा ४२ दशमलव ०१ प्रतिशत र मधेस प्रदेशमा ४४ दशमलव ११ प्रतिशत रहेको छ भने एमबी (मल्टिबेसिलरी) बिरामीको अनुपात नेपालमा ८१ दशमलव १५ र मधेस प्रदेशमा ६९ दशमलव ६६ प्रतिशत रहेको छ ।
यसैगरी, आव २०८१/८२ मा नेपालभर दुई हजार ४०९ नयाँ कुष्ठरोगी पत्ता लागेका छन् भने मधेस प्रदेशमा ८५७ जना नयाँ बिरामी फेला परेका छन् । आवको अन्त्यसम्म नेपालमा दुई हजार ६०८ र मधेस प्रदेशमा ८०५ बिरामी उपचारमा रहेका छन् । नयाँ बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका नेपालमा ९९ र मधेस प्रदेशमा ४० जना रहेका छन् । तह–२ असमर्थता भएका नयाँ बिरामीको सङ्ख्या नेपालमा १५४ र मधेस प्रदेशमा ५८ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले कुष्ठरोग न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनले समयमै रोग पहिचान र उपचार सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अरविन्द साहले प्रशिक्षक प्रशिक्षण दिएको थियो भने मनोज साहले कुष्ठरोगविरुद्ध सामूहिक प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गरे ।








