रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा भेट्रान नेताहरूलाई घुँडा टेकाए

सर्लाही, फागुन २३ गते ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो भारी मतान्तरसहित विजयी भएका छन् ।

३८ वर्षीय महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता महिन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गरे । यादवले ८ हजार ५२३ मत प्राप्त गरे ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. सरोज कुमारले ७ हजार ३९ मत ल्याए । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ५ हजार ९९२ मत प्राप्त गरे। यस परिणामसँगै सर्लाही–२ मा रास्वपाले मधेशका भेट्रान नेताहरूलाई पाखा लगाइदिएको छ ।

को हुन् रविन महतो ?

रविन महतोको सक्रिय राजनीतिक पृष्ठभूमि लामो छैन । तर सामाजिक गतिविधिमा देखिएको सक्रियताका कारण उनी स्थानीय स्तरमा परिचित व्यक्तित्व मानिन्छन् ।

२०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मिएका महतोले स्नातकसम्म अध्ययन गरेका छन् । पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका महतो स्वास्थ्य क्षेत्रसँग पनि जोडिएका छन् ।

उनी विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै जनस्तरमा सेवा प्रदान गर्ने काममा संलग्न रहँदै आएका छन् । यही सामाजिक कामले उनलाई मतदातामाझ परिचित बनाएको मानिन्छ ।

अनुभवी नेतामाथि हाबी

सर्लाही–२ को निर्वाचन यसपटक युवा र अनुभवी नेताबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको थियो । महतोले लामो राजनीतिक अनुभव भएका मधेशका स्थापित नेताहरूलाई पराजित गर्दै नयाँ पुस्ताको प्रतिनिधित्व गरेका छन् ।

पराजित उम्मेदवार महिन्द्र राय यादव नेपाली राजनीतिमा पुरानो नाम हुन् । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ मा जन्मिएका ८८ वर्षीय यादव २०५१ र २०५६ सालमा सर्लाही–१, २०७० मा सर्लाही–५ तथा २०७४ र २०७९ मा सर्लाही–२ बाट निर्वाचन लडिसकेका छन् ।

समानुपातिकतर्फबाट २०६४ सालको संविधानसभा सदस्य बनेका यादव विभिन्न समयमा तीन पटक मन्त्रीसमेत भइसकेका छन् ।

उनले २०५१ र २०५६ मा नेकपा ९एमाले० बाट चुनाव जितेका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही क्षेत्र नम्बर ४ मा विजयी भएका थिए । २०७४ मा राजपा नेपालबाट सर्लाही–२ बाट निर्वाचित भएका थिए ।

राजेन्द्र महतो

यस निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो पनि प्रतिस्पर्धामा थिए । ६८ वर्षीय महतो २०४८ सालदेखि सर्लाहीबाट निर्वाचन लड्दै आएका नेता हुन्। २०७४ मा भने उनी धनुषाबाट चुनाव लडेका थिए ।

महन्थ ठाकुर नेतृत्वको लोसपा र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणपछि उनले राष्ट्रिय मुक्ति पार्टी गठन गरेका हुन् ।

यसपटक सर्लाही–२ बाट उम्मेदवारी दिएका उनी पनि पराजित भए । विश्लेषकहरूले यस परिणामलाई मधेशको परम्परागत राजनीतिक प्रभावमा आएको परिवर्तनको संकेतका रूपमा हेरेका छन् । यो पराजयले मधेशका लामो समयदेखि राज गरिरहेका पुराना नेताको अब बिदाइको समय आएको सन्देश पनि गएको छ ।

कांग्रेसलाई पनि धक्का

यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा. सरोज कुमार उम्मेदवार बनेका थिए । ४४ वर्षीय डा. कुमार पेशाले चिकित्सक हुन् । उनले एमबीबीएस अध्ययन गरेका छन् । उनी सर्लाही जिल्ला कांग्रेसका कार्यवाहक सभापतिसमेत हुन् ।

कांग्रेस नेतृत्वले नयाँ पुस्तालाई अवसर दिने रणनीतिअनुसार उनलाई उम्मेदवार बनाएको थियो । तर पहिलो पटक प्रतिनिधिसभाको चुनाव लडेका डा. कुमारले अपेक्षित मत प्राप्त गर्न सकेनन् ।

सर्लाही २ मा उनको पराजयले केन्द्रीय सभापति गगन थापालाई सर्लाही ४ पनि असर गर्ने सम्भावना देखिएको छ । थापा आफैं सर्लाही ४ मा रास्वपाकै डा. अमरेश सिंहसँग ६ हजार मतान्तरले पछि छन् ।

नयाँ राजनीतिक संकेत

सर्लाही–२ को परिणामलाई मधेशको राजनीतिमा नयाँ संकेतका रूपमा पनि हेरिएको छ । लामो समयदेखि प्रभाव जमाएका अनुभवी नेताहरूलाई पराजित गर्दै युवा उम्मेदवार महतो विजयी हुनु परिवर्तनको चाहनालाई मतदाताले समर्थन गरेको उदाहरण मानिएको छ ।

सामाजिक काम, स्वास्थ्य सेवा र वैकल्पिक राजनीतिको सन्देशसहित चुनावी मैदानमा उत्रिएका महतो अब प्रतिनिधिसभामा सर्लाही–२ को प्रतिनिधित्व गर्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको