जनकपुर मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा

धनुषा, फागुन २४ गते ।

धनुषा ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता समेत रहेका उनले निर्वाचित भएपछि पहिलोपटक जनकपुर रेल्वे स्टेशनमा आयोजित सभालाई सम्बोधन गर्दै प्राप्त मत केवल विजयको प्रतीकमात्र नभई ठूलो जिम्मेवारी भएको उल्लेख गरे । उनले आफू सत्ताको शक्ति र राजधानीको आकर्षणमा अल्झिने ‘भिआइपी’ नेता बन्न नभई जनताको सुखदुःखमा साथ दिने वास्तविक प्रतिनिधिका रूपमा काम गर्न आएको स्पष्ट पारे ।

उनले जनकपुरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्न आफ्नो कार्यकालमा विशेष पहल गर्ने बताए । विशेषगरी जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया र कूटनीतिक पहललाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

जनकपुरधाममा पछिल्लो समय देखिएको सरसफाइको समस्या समाधान गर्नु आफ्नो मुख्य ‘एजेन्डा’मध्ये एक रहेको स्पष्ट पार्दै उनले स्थानीय तह र नागरिकसँग सहकार्य गरी सहरलाई सफा, व्यवस्थित र आकर्षक पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजना अघि सारे ।

विजयपछि उत्साहित आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गर्दै उनले निर्वाचनलाई प्रतिशोध नभई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताए । उनले कसैप्रति पनि अहंकार वा दम्भ प्रदर्शन नगर्न सचेत गराउँदै अब सबै मिलेर क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

धनुषा–३ बाट फराकिलो मतान्तरसहित विजयी भएका ४५ वर्षीय झाले ४३ हजार १४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत प्राप्त गरेको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकै समानुपातिक सांसदका रूपमा प्रतिनिधिसभामा थिए । प्रतिनिधिसभाको तीनवर्षे अवधिमा उनले करिब ९५ प्रतिशत उपस्थिति जनाउनुका साथै सार्वजनिक लेखा समितिको सदस्यका रूपमा पनि काम गरेको थियो । रास्वपामा आबद्ध हुनुअघि उनी नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न थिए ।

फ्याक्टस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतसमेत रहेका झाले राजनीतिशास्त्रमा स्नातकोत्तर र मैथिली साहित्यमा पनि स्नातकोत्तर अध्ययन गरेको छ । आगामी दिनमा जनकपुरको समग्र विकासका लागि आफू सक्रिय रहने बताउँदै उनले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताए । “सरकारी कार्यालयका सेवालाई चुस्तदुरुस्त बनाइनेछ । जनकपुरलाई विवाह (बैवाहिक) गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइनेछ”, उनले भने ।

त्यसैगरी, रामजानकी रङ्गशालाको स्तरोन्नति, जनकपुर विमानस्थलको सुधार तथा जनकपुर रेल्वे सेवाको स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेर काम गरिने उनले जानकारी दिए । उनका अनुसार यी योजनाले जनकपुरको पर्यटन, आर्थिक गतिविधि र अन्तरराष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको