न्युजिल्यान्डमा ‘साम्बा’ले गराइन् घुँडाको शल्यक्रिया

काठमाडौँ, चैत ११ गते ।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया गरिएको छ।

बुधबार बिहान न्युजिल्यान्डको अकल्यान्डमा उनको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो।

शल्यक्रिया सफल भएको जानकारी साम्बाले नै तस्बिरसहित सामाजिक सञ्जालमार्फत गराएकी हुन्।

‘लामो प्रतिक्षापछि अन्ततस् मेरो घुँडाको शल्यक्रिया भएको छ। बुधबार बिहान डाक्टर साइमन र उहाँको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु’, उनले लेखेकी छन्, ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टकै निगरानीमा मेरो पुनर्स्थापनाको काम भोलिदेखि सुरु हुनेछ।’

स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी पनि साम्बाले गराएकी छन्।

साथै उनले यस पीडाको घडीमा साथ दिने वेलिंगटन र अकल्यान्डका नेपालीप्रति आभार प्रकट गरेकी छन्।

‘मेरो क्लब वेलिंगटन फिनिक्स र मेरो व्यवस्थापन टिमले दिनरात गरेर यो शल्यक्रियाको लागि समय मिलाउनुभएको छ’, साम्बाले लेखेकी छन्, ‘आम समर्थक जसले सधैँ मेरो लागि सहयोग र माया दिनुभयो, त्यसै ऊर्जा लिएर म पुनरागमनको यात्रामा अघि बढेको छु। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद। अब सम्पूर्ण ध्यान पुनरागमनमा।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको