हेटौंडा, चैत २० गते ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका(४ घर भई हाल हेटौंडा–४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको डीएसपी बोगटीले बताए ।
बिकले हेटौंडा–१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले बताए ।








