सङ्खुवासभा, चैत २० गते ।
सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरु गरिएको हो ।
आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीले जानकारी दिए । आज साँझसम्म सक्ने गरी अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको उनले बताए ।
उत्तरपुस्तिका परीक्षणका लागि फरकफरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको र सुरक्षाका लागि सिसीटिभी क्यामरा जडानलगायत आवश्यक प्रबन्ध गरिएको इकाइ प्रमुख भण्डारीले जानकारी दिए ।
यहाँ जिल्लाभर दुई हजार ८४९ जना परीक्षार्थी रहेका छन् । जसमा नियमिततर्फ दुई हजार १२५ र ग्रेडवृद्धितर्फ पाँच सय २३ जना छन् । रासस








