काठमाडौं, वैशाख १८ गते ।
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा सय रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए ।
उनले ७९ रनमा ५६ रनको योगदान दिए । गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एकएक विकेट लिए ।
जवाफ ब्याटिङमा आएको यूएईले ४ ओभर १ बलको खेल खेल्दा पानी परेपछि खेल रोकिएको हो । यूएईले १ विकेट गुमाएर ३६ रन बनाएको छ । यूएईको १ विकेट नेपालका नन्दन यादवले लिएका हुन् ।








