काठमाडौँ, वैशाख १८ गते ।
दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे । उनी अन्तिम बलमा रनआउट भए ।
मध्यक्रमका ब्याटर गुल्शन झाले ३८ बलमा ४४ रन जोडे । ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए । अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन् । आरिफ शेखले ११ रन थपे ।
नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।
युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुई–दुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एक–एक विकेट हात पारे । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस








