काठमाडौँ, वैशाख २२ गते ।
नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ ।
आज सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिए । डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटत प्रतिद्वन्द्वी डा. मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेको थियो ।
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएको छ । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेसबाट डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएको छ ।
कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिव डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य विजयी भएको छ । सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।








