वडा कार्यालय बनाउन एक करोड मूल्यबराबरको जग्गा दान

भक्तपुर, असार ३ गते ।

सूर्यविनायक नगरपालिकाले नौवटा वडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं. १ सिरुटारको भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ ।

स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको करिब रु एक करोडभन्दा बढी मूल्यबराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान प्राप्तिपछि भवन निर्माण हुन लागेको हो ।

सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त चार आना जग्गामा अन्डरग्राउन्डसहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिए ।

नगरपालिकाले रु तीन करोड ४० लाखको बजेटमा ठेक्का आह्वान गरेसँगै भवन निर्माण अघि बढेको उनले जानकारी दिए । उनले कलात्मकता झल्किने गरी भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनिक कार्यसँगै विभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधायुक्त हलसहितको भवन निर्माण हुने उनले बताए ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले वडा नं. २ देखि वडा नं. १० सम्म आफ्नै भवन निर्माण गरिसकेको बताउँदै अब बाँकी रहेको वडा नं. १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताए ।

उनले वडा नं. १ को भवन कलात्मक हुने बताउँदै नयाँ बनेका भवनमध्ये वडा नं. ५, ६, ९ र वडा नं. १० को भवन कलात्मक शैलीमा निर्माण गरेको र वडाका पुराना भवनलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताए ।

वडा नं. १ सिरुटारको भवन निर्माणसँगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाले आफ्नै भवनबाट नागरिकलाई सेवाप्रवाह गर्ने उनले बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको