दादुरा रोगविरुद्ध खोप अभियान

काठमाडौँ, असार ३ गते ।

सरकारले बागलुङमा दादुरा रोगविरुद्ध खोप अभियान सुरु गरेको छ।

स्वास्थ्य सेवा विभाग अन्तगर्तको परिवार कल्याण महाशाखाले असार १ गतेदेखि खोप अभियान सुरु गरेको हो। महाशाखाले बागलुङको गलकोट नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका ६ महिनादेखि १९ वर्षसम्म बालबालिका तथा किशोरकिशोरीलाई दादुरा विरूद्धको खोप अभियान सुरु गरेको जनाएको छ।

बागलुङमा दादुरा संक्रमण देखिएकाले नियन्त्रण गर्न खोप अभियान सञ्चालन गरेको महाशाखाले जनाएको छ। खोप अभियानमा बुधबारसम्म १० हजार ७४९ जना बालबालिकालाई खोप लगाइसकिएको छ। यो अभियान असार ७ गतेसम्म चल्नेछ।

चिकित्सकका अनुसार दादुरा अत्यन्तै संक्रामक रोग हो। एक जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण सार्न सक्छ।

सामन्यतया पाँच वर्ष मुनिका बालबालिकालाई संक्रमणको जोखिम बढी हुन्छ। दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ।

दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्छ। यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवं अरु भित्रि अंगमा संक्रमण गर्छ। दादुरा रोग संक्रमण भएको व्यक्तिले खोक्दा, हाँछ्यौँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्छ।

दादुरा रोग लागेपछि यसको खास उपचार छैन। तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगेर लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्छ। साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउनु पर्छ। दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा विरुद्धको खोप लिनु नै हो।

सरकारले नियमित खोपमार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको