एजेन्सी, असार ७ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।
ट्रम्पले मेलोनीमाथि आफ्नो लोकप्रियता बढाउन अमेरिकासँगको सम्बन्ध सुधार गर्न खोजेको भनेपछि उनीहरूबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोप भएको हो।
जी–७ राष्ट्रहरूको सम्मेलनमा फोटो खिचेको विषयलाई लिएर सुरूमा ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेका थिए।
उनले मेलोनीले आफूसँग फोटो खिचाउन ‘बिन्ती गरेको’ भनेका छन्।
‘उनले मसँग फोटो खिच्न बारम्बार बिन्ती गर्नुभयो। इटालीमा उहाँको लोकप्रियता खराब छ। अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरिसकेपछि उहाँ फेरि साथी बन्न चाहनुहुन्छ ताकि आफ्नो ‘नम्बर’ (लोकप्रियता) बढोस्। तर धन्यवाद आवश्यक छैन, ट्रम्पले लेखेका थिए।
उनले इरानसँगको युद्धका क्रममा इटालीले अमेरिकी सैन्य अड्डा र धावनमार्ग प्रयोग गर्न नदिएको भन्दै असन्तुष्टि पनि जनाए।
‘उनले हामीलाई इटालीका ल्यान्डिङ स्ट्रिप वा रनवे प्रयोग गर्न पनि दिइनन्, जसले ठूलो रणनीतिक असुविधा सिर्जना गर्यो। अमेरिकाले इटाली र अन्य भनिएका नेटो सहयोगीहरूको सुरक्षाका लागि बर्सेनि सयौं अर्ब डलर खर्च गरिरहेको अवस्थामा पनि यस्तो भयो,’ ट्रम्पको भनाइ थियो।
मेलोनीले ट्रम्पको भनाइमा इन्स्टाग्राममार्फत जबाफ दिएकी छन्। उनले ट्रम्पले लगाएको आरोप अर्थहिन रहेको र उनीसँगको मित्रतासँग आफ्नो लोकप्रियताको साइनो नरहेको बताएकी छन्।
उनले ‘इटाली एन्ड आई नेभर बेग! (इटाली र म कहिल्यै बिन्तीभाउ गर्दैनौं।) पनि भनेकी छन्।
‘तपाईं मेरो साथी हुनु र नहुनुले मेरो लोकप्रियतामा कुनै प्रभाव पर्दैन। मेरो लोकप्रियता तपाईंसँगको सम्बन्धमा होइन इटालीको राष्ट्रिय हितको रक्षा गर्न सक्ने क्षमतामा निर्भर गर्छ। जुन म सधैँ गरेको छु,’ उनले भनेकी छन्।
उनले आफ्नो लोकप्रियताको चासो नराख्न पनि ट्रम्पलाई आग्रह गरिन्।
‘मेरो लोकप्रियता तपाईंको चासोको विषय होइन। म सुझाव दिन्छ’, तपाईं आफ्नो लोकप्रियतामै ध्यान दिनुहोस्,’ उनले भनेकी छन्।
अमेरिकी सैन्य अड्डाको प्रयोगसम्बन्धी ट्रम्पको आरोपको पनि उनले प्रतिवाद गरिन्।
‘ती अड्डाको प्रयोग हामीले सधैं सम्मान गरेका सम्झौताअनुसार हुन्छ र ती सम्झौता उल्लंघन गर्न सकिँदैन। म प्रधानमन्त्री रहुञ्जेल इटाली सार्वभौम राष्ट्रकै रूपमा रहनेछ,’ उनले भनिन्।
ट्रम्पले त्यसो भने पनि मेलोनीको लोकप्रियता पुनः उकालो लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
हालै भएको जनमत सर्वेक्षणअनुसार मेलोनीको ब्रदर्स अफ इटाली पार्टी करिब २८ प्रतिशत समर्थनसहित इटालीको सबैभन्दा ठूलो राजनीतिक शक्ति बनेको छ।
बरू ट्रम्पको अनुमोदन दर पनि हाल ३६ प्रतिशत रहेको रोयटर्सरइप्सोस सर्वेक्षणले देखाएको छ।








