रास्वपा महाधिवेशन: चितवनका नेता खुसी

चितवन, असार १५ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको भन्दै जिल्लाका नेताले खुसी व्यक्त गरेका छन् । स्थानीय व्यवस्थापन सम्हालिएका रास्वपाका जिल्लास्तरीय नेताहरुले महाधिवेशनस्थल भरतपुरमा गर्ने निर्णय भएसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा चितवनले व्यापक रुपमा प्रचारप्रसार पाएको बताए ।

पार्टीको उर्वरभूमि चितवनलाई प्राथमिकता दिई यहाँ महाधिवेशन गर्ने अवसर प्रदान गरेकामा पार्टी नेतृत्वलाई धन्यवाद दिँदै उनिहरूले गर्मीका बाबजुद सबैको साथ सहयोग प्राप्त गरी पहिलो महाधिवेशन सफल बनाउन आयोजक जिल्लाका तर्फबाट कुनै कसुर बाँकी नराखेको दाबी गरियो ।

महाधिवेशनमा आवास र खानपानको व्यवस्थापनको संयोजन गर्नुभएका राजन गौतमले चितवन रास्वपाले ऐतिहासिक अवसर प्राप्त गरेको बताए । उनले भने, “झण्डै एक साता देशभरका रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुक यहाँ बस्दा जिल्लाको समग्र अर्थतन्त्र गतिशील भई जिल्लावासी लाभान्वित भएका छन् ।” चितवनको भूमिले रास्वपाको पहिलो महाधिवेशन गरेर नीति र नेतृत्व चयन गर्ने अवसर पाएको उनले बताए ।

प्राविधिक कारणले महाधिवेशन लम्बिँदा पनि खानपान र आवासमा कुनै कमजोरी हुन नपाएको भन्दै नेता गौतमले भने, “गर्मीका कारण उत्पन्न समस्याबाहेक अरू भएजस्तो लाग्दैन । यस अवसरमा महाधिवेशन अवधिभर अहोरात्र खटिने सबै नेता, कार्यकर्ता, शुभेच्छुकलाई धन्यवाद भन्न चाहन्छु । समग्र चितवनको प्रतिष्ठा बढाउन रास्वपा महाधिवेशन सफल भएको छ ।”

व्यवस्थापनमा खटिनुपर्दा प्राप्त हुनसक्ने पद गुमाउन परको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “चितवनबाहिर महाधिवेशन भएको भए केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन्थेँ होला, भ्याइनभ्याइ व्यवस्थापनमा कुद्नु पर्दा केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गर्न सकिएन ।” साथीहरूको जोडबल रहे पनि व्यवस्थापन कमजोर हुने चिन्ताले उम्मेदवारी दिइन्, मैले पाइनँभन्दा पनि महाधिवेशन सफल भएकामा खुसी छु ।”

यसैगरी जिल्ला सभापति मिनीमाधव खनाल केन्द्र र जिल्लाको टिम अहोरात्र खटिएकै कारण महाधिवेशन सफल भएको बताए । महाधिवेशन अवधिभर दिनरात, भोकतिर्खा नभनीकन काम गरेकाले नै महाधिवेशन सफल भएको स्पष्ट गर्दै उनले भने, “चितवनले नयाँ नेतृत्व र नीति बनाएर पठाएको छ, यसमा हामी गौरवान्वित छौँ ।”

देशभरका रास्वपाका नेता तथा कार्यकर्ताले चितवनको राजनीतिसँगै पर्यापर्यटन र समग्र परिस्थितिको अवलोकन गर्न पाएको भन्दै जिल्ला सभापति खनालले चितवनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको छ, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै धन्यवादका पात्र हुनुहुन्छ भने ।

जिल्ला सचिव तेजेन्द्र पौडेलले केन्द्रीय पदाधिकारीमा चितवनका तीन वटै संसदीय क्षेत्रका प्रतिनिधि निर्वाचित हुनु हामी चितवनवासीका लागि गौरवका विषय भएको बताए । उनले भने, “हामी जिल्लावासीको पहुँच केन्द्रीय पदाधिकारीसँगै सरकारका मन्त्रीहरुसम्म सहज भएको छ । चितवनमा सम्पन्न ऐतिहासिक महाधिवेशनपछि रास्वपा अझ सुदृढ, परिपक्व र राजनीतिक रुपमा अझ चलायमान भएको छ ।” रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको