उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा

काठमाडौँ, असार १५ गते ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ ।

उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा आजदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्ने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको हो । उक्त ‘ड्यासबोर्ड’ बाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण वास्तविक समय (रियल टाइम) मै अद्यावधिक हुने छ ।

नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन थियो । ‘ड्यासबोर्ड’ सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने उद्योग मन्त्रीको सचिवालयले जनाएको छ । यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको जनाइएको छ ।

सचिवालयका अुनसार ‘ड्यासबोर्ड’ मा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली हेर्न सकिनेछ । अन्य सूचना प्रविधि प्रणाली नभएका निकायको विवरण पनि ‘डाइनामिक फर्म’को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको