संविधानको मर्मअनुसार कानुन कार्यान्वयन गर्न मुख्यमन्त्री यादवको आग्रह

धनुषा, असार २० गते ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानको प्रभावकारी कार्यान्वयन, विधिको शासनको सुदृढीकरण तथा नागरिकलाई सहज र गुणस्तरीय न्याय सुनिश्चित गर्न राज्यका सबै निकायबीच समन्वय, सहकार्य र निरन्तर संवाद आवश्यक भएको बताएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित तथा उच्च अदालत जनकपुरको सहकार्यमा सम्पन्न ‘समसामयिक तथा संवैधानिक कानुनी सवालमा छलफल’मा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि संविधानको मर्मअनुसार कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकामा जोड दिए ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले संविधान र कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्र सुशासन, विधिको शासन तथा नागरिकको न्यायप्रतिको विश्वास सुदृढ हुने बताए ।

उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले संविधान गतिशील दस्तावेज भएकाले त्यसमा समयानुकूल परामर्जन असान्दर्भिक नहुने धारणा व्यक्त गरियो ।

मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश सरकारसँग सम्बन्धित संवैधानिक तथा कानुनी विषयमा देखिने जटिलताको समाधानका लागि सम्बन्धित निकायबीच छलफल आवश्यक छ भने ।

त्यस अवसरमा उच्च अदालतका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, सरकारी वकिल, कानुनका जानकार, प्रदेश सरकारका सचिव, विभिन्न मन्त्रालयका कानुन अधिकृत तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको