एमालेका नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना

काठमाडौं, साउन १९ गते ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् ।

पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।

भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।

वीर अस्पतालका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पतालको सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको हो ।

अस्पताल पुगेपछि उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरिएको छ।

डा. बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, अक्सिजनको मात्रा लगायत सबै जीवनरक्षक सूचक ९भाइटल साइन० सामान्य अवस्थामा रहेका छन् ।

उनलाई सलाइन चढाएर निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।

अस्पतालका अनुसार थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् । सोही अवस्थालाई समेत ध्यानमा राखेर चिकित्सकहरूले नियमित निगरानी गरिरहेका छन् ।

‘उनलाई सर्जिकल बिल्डिङको तेस्रो तलाको क्याबिनमा राखेर उपचार भइरहेको छ । सबै भाइटलहरू सामान्य छन्, सलाइन चलिरहेको छ र निरन्तर मोनिटरिङ भइरहेको छ,’ डा. बुढाथोकी भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको