भिसा अस्वीकृत हुँदा सुनिलले गुमाए क्यालिस्थेनिक्स विश्व च्याम्पियनसिप

काठमाडौं, साउन २९ गते ।

नेपाली क्यालिस्थेनिक्स खेलाडी सुनिल खड्काले भिसा अस्वीकृत भएपछि लाट्भियामा आयोजना भइरहेको क्यालिस्थेनिक्स विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर गुमाएका छन् ।

नेपालबाट प्रतियोगितामा सहभागी हुन राष्ट्रिय छनोटमार्फत छनोट भएका सुनिलले भिसा अस्वीकृत भएपछि आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर गुमाएका हुन् । उनी पुरुष इन्ड्युरेन्स विधामा राष्ट्रिय छनोट भएका थिए । च्याम्पियनसिप अगस्ट १२ देखि लाट्भियामा भइरहेको छ र भोलि समापन हुनेछ ।

राइज क्यालिस्थेनिक्स ललितपुर र एनवाईएफसी नेपालको सहकार्यमा गत अप्रिलमा आयोजना गरिएको राष्ट्रिय छनोट प्रतियोगिताबाट विभिन्न विधामा खेलाडी छनोट गरिएको थियो । प्रतियोगितामा पुरुष र महिला इन्ड्युरेन्स तथा पुरुष र महिला फ्रिस्टाइल गरी चार विधा समावेश थिए । प्रत्येक विधामा पहिलो हुने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने व्यवस्था थियो ।

सुनिलका अनुसार अन्य तीन खेलाडीले आवश्यक कागजातको समस्या देखाउँदै भिसाका लागि आवेदन नै दिएनन् । आफूले भने आवश्यक प्रक्रिया पूरा गरेर लाट्भिया जाने तयारी गरेका थिए ।

तर क्यालिस्थेनिक्स नेपाल ओलम्पिक कमिटी (एनओसी) मा दर्ता भएको खेल नभएकाले सरकारी निकायबाट आधिकारिक सिफारिसपत्र लिन समस्या भएको उनले बताए ।

‘मेरो खेल लाट्भियामा थियो तर भिसा रिजेक्ट भयो । क्यालिस्थेनिक्स एनओसीमा दर्ता भएको खेल होइन । त्यसैले यसलाई हेर्ने आधिकारिक संस्था पनि छैन’ सुनिलले अनलाइनखबरसँग भने, ‘हामीले सरकारबाट पत्र दिन मिल्दैन भने पनि कम्तीमा नेपाललाई प्रतिनिधित्व गरेर प्रतियोगितामा जान लागेको खेलाडी हो भनेर पत्र बनाइदिन अनुरोध गरेका थियौं ।’

उनका अनुसार भिसा अन्तर्वार्ताका क्रममा आफू फर्केर नेपाल आउने विषयमा शंका रहेको कारण देखाउँदै आवेदन अस्वीकार गरिएको थियो । ‘सिधै नन–रिटर्निङ डाउट छ भनेर भिसा रिजेक्ट भयो,’ उनले भने ।

सुनिलले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका खेलका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक सरकारी सिफारिस उपलब्ध हुने भए पनि दर्ता नभएका खेलका खेलाडीले यस्तै समस्या भोग्नुपर्ने अवस्था रहेको बताए ।

‘मेरो ब्याकग्राउन्ड र राष्ट्रिय छनोट भएको कुरा हेरेर कम्तीमा सरकारबाट एउटा पत्र बनाइदिएको भए पनि फरक पर्न सक्थ्यो,’ उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको खेलको हकमा पत्र दिने व्यवस्था छ । तर यस्ता दर्ता नभएका खेल पनि धेरै छन् । नेपाललाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने खेलाडीका लागि कम्तीमा एउटा आधिकारिक पत्रको व्यवस्था हुनुपर्छ ।’

उनले आफूहरू सम्बन्धित प्रतियोगितामा सहभागी हुन व्यक्तिगत रूपमा नभई राष्ट्रिय छनोटबाट चयन भएर जान लागेको भन्दै त्यस्ता खेलाडीको अन्तर्राष्ट्रिय सहभागितालाई राज्यले पनि संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने बताए ।

सुनिलको घटना क्यालिस्थेनिक्स खेलाडीको मात्र समस्या नभई राष्ट्रिय संरचनामा दर्ता नभएका खेलका खेलाडीका लागि अन्तर्राष्ट्रिय सहभागिताको प्रक्रियामाथि समेत प्रश्न उठाउने विषय बनेको छ ।

नेपालमा विभिन्न नयाँ खेलको गतिविधि र अन्तर्राष्ट्रिय सहभागिता बढिरहेका बेला सम्बन्धित खेल संघ दर्ता नभएको अवस्थामा खेलाडीलाई आवश्यक सरकारी कागजात उपलब्ध गराउने वैकल्पिक संयन्त्र नहुँदा भविष्यमा पनि यस्ता समस्या दोहोरिन सक्ने देखिन्छ ।

सुनिलका अनुसार क्यालिस्थेनिक्सलाई संस्थागत रूपमा दर्ता गर्ने वा दर्ता नभएका खेलका हकमा समेत राष्ट्रिय प्रतिनिधित्व पुष्टि गर्ने छुट्टै सरकारी संयन्त्र बनाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने खेलाडीलाई सहज हुने अवस्था रहन्छ ।

सुनिलले गतवर्ष असारमा गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता पनि हासिल गरेका थिए । उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको