डोल्पा, भदौ ९ गते ।
हिमाली जिल्ला डोल्पामा कृषक लक्षित कृषि कार्यक्रम तथा अनुदानसम्बन्धी सूचना गाउँगाउँमै पुगेर जानकारी गराउन थालिएको छ।
जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ (स्याउ जोन) ले जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर कृषकलाई कृषि क्षेत्रमा सञ्चालन हुने विभिन्न कार्यक्रम, अनुदान तथा प्रस्ताव आह्वानसम्बन्धी जानकारी गराएको हो।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि कार्यालयबाट जारी गरिएका सूचीकृत कार्यक्रम तथा प्रस्ताव आह्वानसम्बन्धी सूचना सबै लक्षित कृषकसम्म सहज रूपमा पुर्याउने उद्देश्यले कार्यालय प्रमुखसहितको टोली गाउँबस्तीमै पुगेर प्रत्यक्ष रूपमा जानकारी गराउन थालेको हो।
टोलीले कृषकलाई विभिन्न कृषि कार्यक्रमका लागि आवेदन दिने प्रक्रिया, आवश्यक कागजात, प्रस्ताव पेस गर्ने समयसीमा, कृषक तथा कृषि फार्म सूचीकृत हुने प्रक्रियालगायतका विषयमा जानकारी गराउँदै आएको कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख तथा कृषि अधिकृत गोविन्द मल्लले जानकारी दिए।
उनका अनुसार सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीका कृषकलाई कार्यालयका कार्यक्रमबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले गाउँमै पुगेर सूचना प्रवाह गरिएको हो।
यसै क्रममा कार्यक्रम कार्यान्वयन एकाइका निमित्त कार्यालय प्रमुख मल्ल र गणेश शाहीले त्रिपुरासुन्दरी नगरपालिका–३ का जिउँ गाउँ, सुँ गाउँ तथा वडा नम्बर ४ को रंगगाउँ पुगेर कृषकलाई विभिन्न कृषि कार्यक्रमबारे जानकारी गराएका छन्।
टोलीले गाउँमै पुगेर कृषकसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै उनीहरूको कृषि व्यवसाय, कृषि फार्म तथा उत्पादनसँग सम्बन्धित अवस्थाबारे समेत जानकारी लिएको छ।
कृषि अधिकृत मल्लका अनुसार डोल्पाका कतिपय ग्रामीण बस्तीमा इन्टरनेट तथा सूचना–सञ्चारको सहज पहुँच नहुँदा कार्यालयबाट जारी हुने सूचना सबै कृषकसम्म समयमै पुग्न कठिन हुने गरेको छ। त्यसैले सूचना गाउँमै पुर्याएर कृषकलाई कार्यक्रमबारे जानकारी गराउने र समयमै आवेदन तथा प्रस्ताव पेस गर्ने वातावरण बनाउन अभियान सञ्चालन गरिएको उनले बताए।
‘गाउँमै पुगेर जानकारी गराउँदा कार्यालयका कार्यक्रमबारे कृषकलाई बुझ्न सहज हुन्छ। सूचना थाहा नपाएर लक्षित वर्ग अवसरबाट वञ्चित नहोस् भन्ने उद्देश्यले गाउँस्तरमै पुगेर जानकारी गराइरहेका छौँ,’ मल्लले भने।
कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कृषि कार्यक्रमका लागि इच्छुक कृषक तथा कृषि फार्म सञ्चालकलाई समयमै कार्यालयमा सूचीकृत हुन तथा तोकिएको समयभित्र प्रस्ताव पेस गर्न अनुरोधसमेत गरेको छ।
कृषकसम्म सूचना र सेवा सहज रूपमा पुर्याउने उद्देश्यले गाउँगाउँमा पुगेर कार्यक्रमबारे जानकारी गराउने कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने कार्यालयले जनाएको छ।






