नुवाकोट, भदौ १० गते ।
चीनको तिब्बतदेखि रसुवा, नुवाकोट, धादिङ भइ चितवनसम्म तहसनहस बनाउँदै आएको बाढीले त्रिशूली नदी किनारमा भएको केन्द्रीय कारागार भने जोगिएको छ । विदुर वडा नं। ३ स्थित खम्पाक्याम्पमा रहेको उक्त कारागारमा बाढीले आंशिक क्षति पुर्याए पनि बगाउनबाट बचेको हो ।
कारागार प्रमुख भेषबहादुर कुँवरका अनुसार कारागारको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा इकाइ भवनमा क्षति पुगेको छ । कारागार आसपासका अन्य संरचनाहरु भने बाढीले बगाएको छ ।कारागारमा कैदीबन्दी राखिएको भवनको पहिलो तलामा बाढी पसेको छ भने बगाउनबाट जोगिएको प्रमुख कुँवरले जानकारी दिए ।
कैदीबन्दीको सुरक्षामा रहेका सुरक्षाकर्मीहरूसहित एक हजारको संख्यामा रहेका कैदीबन्दी सुरक्षित रहेका छन् । बाढी प्रभावित भएपछि त्यहाँ रहेका सबै कैदीबन्दीलाई सुरक्षित ब्लकमा सारिएको छ । रसुवा र नुवाकोटका विभिन्न तटीय क्षेत्रमा बाढीले ठूलो असर पुर्याएको छ ।






