धादिङ, भदौ १० गते ।
रसुवा हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले धादिङका तीनवटा पुल बगाएको छ। बाढीका कारण पुलहरू भत्किएपछि सडक सञ्जाल टुटेको छ भने स्थानीयको जनजीवन प्रभावित बनेको छ।
बाढीले सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएको छ । गजुरी गाउँपालिका–२ र सिद्धलेक–६ लाई जोड्ने यो पुल बगेपछि जिल्ला सदरमुकाम धादिङबेँसी जाने मुख्य आवागमन प्रभावित भएको छ।
त्यस्तै गजुरी–५ र सिद्धलेक–७ लाई जोड्ने घाटबेँसी पुल पनि त्रिशूलीको भेलले बगाएको छ।
गजुरी–६ र सिद्धलेक–७ स्थित जरेखेत पुल पनि बाढीले बगाएको छ ।
पुलहरू बगेका कारण विशेषगरी फुर्केखोला र त्यस आसपासका नागरिकलाई सदरमुकामसम्मको यात्रा गर्न ठूलो समस्या उत्पन्न भएको छ।
त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि महेशदोभानबाट भेल फर्किएर गल्छी गाउँपालिका(६ स्थित बैरेनी बजार क्षेत्र जलमग्न बन्न पुगेको छ।
लगातारको बाढीले त्रास बढाए पनि गल्छी, जिन्टेटार, मासटार र बेनिघाट क्षेत्रका पुलहरू भने हालसम्म सुरक्षित अवस्थामा रहेको बताइएको छ। यस प्राकृतिक विपद्बाट भएको क्षतिको पूर्ण विवरण भने सङ्कलन भइरहेको छ।






