काभ्रेपलाञ्चोक, भदौ १५ गते ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ। काभ्रे कांग्रेसले १७ लाख ६२ हजार ९५७ रुपैयाँ सहयोग गरेको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा ठूलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्धारका लागि काभ्रे कांग्रेसले पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।
मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसले कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले नेपाली कांग्रेसका सह(महामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेका हुन्।






