सरकारले एक्लै गर्न खोज्दा राहत वितरणमा समेत समस्या छ : महासचिव सिंह

काठमाडौं, भदौ १५ गते ।

रसुवा बाढी प्रभावित क्षेत्र पुगेर काठमाडौं फर्किएका जनमत पार्टीका महासचिव चन्दन सिंहले खोज तथा उद्धारसँगै राहत र विस्थापितको व्यवस्थापन धेरै समस्या रहेको बताएका छन् ।

राहत सामग्री लिएर गएका उनले त्यसको वितरणमा पनि समस्या रहेको बताए ।

‘बट्टार बजारमा चारपाँच वटा होल्डिङ सेन्टर छन् । त्यहीँ प्रभावितलाई राखिएको छ । तर घरबारविहीन भएका स्थानीयको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन’ उनले भने,’घर र बजार नै गुमाएका मानिसलाई पनि होल्डिङ सेन्टरमा राखेर खाना र बस्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।’

बट्टार क्षेत्रमा उद्धारका लागि हेलिकप्टरहरू निरन्तर परिचालन भइरहे पनि उद्धारपछि प्रभावितको व्यवस्थापन, आफन्तसँग समन्वय तथा शव पहिचानमा समस्या अनुभव सुनाए ।

नेता सिंहका अनुसार बाढीले घरबारविहीन भएका परिवारमा खाद्यान्नसँगै कपडा र अन्य अत्यावश्यक सामग्रीको समेत अभाव छ । ‘साना बच्चाहरू छन् । जसको घरै बगायो । त्यो बगाउँदा मान्छेको आफ्नो आङमा भएको लुगा बाहेक त अरु केही छैन’ सिंह भन्छन्, ‘पाँच दिनदेखि एउटै कपडा लगाइरहेका छन् । त्यसैले त्यहाँ खानेकुरा मात्र होइन, कपडा र ओढ्ने ओछ्याउने तत्काल पुर्‍याउनुपर्ने देखिन्छ ।’

बाढीपछि खोज, उद्धार, राहत र पुनःस्थापनामा सबै राजनीतिक दललाई सहभागी गराउने उद्देश्यले सर्वदलीय संयन्त्र बनाउने भनिए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

‘फिल्डमा दलीय संयन्त्र र सरकारबीच समन्वय भएको छैन’ उनी भन्छन् । सरकारले एक्लै गर्छु भन्दा समस्या भएको उनको ठहर छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको