हेटौंडा, भदौ १८ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३७ लाख ४३ हजार २७३ रुपैयाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले १० भदौमा भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेले जानकनरी दिए ।
उनका अनुसार सहयोग रकममध्ये ५० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने बाँकी ५० प्रतिशत बाढीपहिरो प्रभावित पालिकाको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिनेछ ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार रकममध्ये सम्पूर्ण गाउँपालिका कर्मचारीबाट ७ लाख ४१ हजार ९५८ रुपैयाँ, विद्यालय शिक्षक तथा कर्मचारीबाट २२ लाख ५० हजार ३१५ रुपैयाँ, सम्पूर्ण जनप्रतिनिधिबाट २ लाख ५१ हजार रुपैयाँ र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ जुटाइनेछ ।
यसरी कुल सहयोग रकम ३७ लाख ४३ हजार २७३ रुपैयाँ पुगेको वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई राहत पुर्याउन, उद्धार कार्यलाई तीव्रता दिन तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनामा सहयोग गर्न आफ्नो पूर्ण ऐक्यबद्धता रहने जनाएको छ ।






