एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

काठमाडौं, भदौ १९ गते ।

नेपालको एक प्रमुख बहुराष्ट्रिय कम्पनी एनसेलका सीईओ माइकल फोलेले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत वर्षको असोज अन्तिम साता एनसेलको सीईओ बनेका उनले एक वर्ष पनि नपुग्दै राजीनामा दिएका हुन् ।

पारिवारिक कारण देखाएर सीईओ फोलेले राजीनामा दिएको र ९ भदौमा स्वीकृतिसमेत भएको एनसेलले पुष्टि गरेको छ । यसबारे नेपाल दूरसञ्चार प्राधिकरणमा जानकारी गराइसकिएको एनलसेलले जनाएको छ । पारिवारिक कारण देखाए पनि नेपालमा काम गर्ने वातावरण नभएको भन्दै उनले चाँडै पद छोडेको अनुमान गरिएको छ।

एनसेलको लाइसेन्सको म्याद थपिने कि नथपिने भन्ने विवाद केही समयदेखि चलिरहेको छ । त्यसै विषयमा सरकारले एनसेललाई च्याप्दै लगेको अवस्थामा एनसेल सञ्चालक समितिका सबै सदस्यमाथि अर्को केसमा सरकारले मुद्दा हालेपछि फोले चिन्तित थिए ।

स्मार्ट टेलिकमका उपकरण लिलामी प्रक्रियाबाट खरिद गरेको विषयको मुद्दामा फोलेलाई भने विपक्षी बनाइएको छैन ।
तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले लाइसेन्सको अवधि सकिएपछि एनसेललाई सरकारीकरण गर्ने पूर्वशर्त राखी नवीकरण गरिदिएको थियो । त्यो कानुन विपरीत रहेको एनसेलको भनाइ छ ।

तर वर्तमान सरकार आएपछि पनि जबर्जस्ती तीन वर्षपछि एनसेल लिन्छु भन्ने काम कारबाही अघि बढाएकोमा पनि उनी चिन्तित थिए । कम्पनीलाई नेपालीकै स्वामित्वमा ल्याउन ५० प्रतिशतभन्दा बढी सेयर सर्वासधारणलाई आईपीओमापर्फत दिन तयार रहेको प्रस्ताव पनि एनसेलले गरेको थियो । सरकार यसमा समेत सकारात्मक नदेखिएको स्रोत बताए ।

एउटा प्रमुख बहुराष्ट्रिय कम्पनीको सीईओले १० महिना मात्रै काम गरेर नेपाल छोड्दा त्यसले राम्रो सन्देश नगएको टेलिकम क्षेत्रका एक जानकारले बताए ।

उनको राजीनामा स्वीकृत भएपछि नयाँ सीईओ नआउन्जेललाई सीईओले प्रयोग गर्ने सम्पर्ण अधिकारसहित कम्पनीका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिइएको एनसेलले जनाएको छ ।

फोलेलाई गत वर्षको कात्तिक १५ गतेबाट लागु हुने गरी असोज अन्तिममा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो । एनसेलमा आवद्ध हुनु अघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी बहन गरेका थिए । उनले त्यसअघि ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत सम्हालेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको