काठमाडौं, असोज १ गते ।
धनुषाको शहीद नगर नगरपालिका–४ घर भएका २४ वर्षीय अजयकुमार मुखिया अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई मंगलबार साँझ ५ः२० बजे शहिद नगर–४ बाट पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुको कारण भने हुण्डीसँग सम्बन्धित छ ।
सीआईबीका वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराअनुसार उनले ठूलो मात्रामा हुण्डीको कारोबार गरेको सूचना प्रहरीले पाएपछि उनी राडारमा परेका हुन् । उनको व्यक्तिगत बैंक खाता र व्यावसायिक खाताको विवरण केलाउँदा प्रहरी अधिकारी नै चकित गरेका छन् ।
बैंक खाताको ती विवरण केलाउँदा प्रारम्भिक चरणमै उनले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको भेटिएको छ । यो त बैंकिङ च्यानलबाट भएको कारोबारको विवरण मात्रै हो ।
यसबाहेक नगद कै रुपमा हुण्डी कारोबार पनि उत्तिकै हुने भएकाले यो संख्या अझै बढ्न सक्ने निश्चित छ ।
२ वर्षमै डेढ अर्ब कारोबार
हुण्डीको सूचना आएपछि सीआईबीले लामो रुपमा सुक्ष्म अनुसन्धान अघि बढायो । सूचनाको पुष्टि हुने प्रमाणहरु संकलन भएपछि मुखिया समातिए । प्रारम्भिक अनुसन्धानको क्रममा उनले पछिल्लो २ वर्षमै करिब डेढ अर्बको हुण्डी कारोबार गरेको भेटिएको छ ।
‘प्रारम्भिक अनुसन्धानमा उनी विगत दुई वर्षदेखि हुण्डी कारोबारमा संलग्न देखिन्छ । यो अवधिमै ठूलो मात्रामा हुण्डी कारोबार भएको प्रमाणहरु भेटिएको छ’ एसएसपी जबराले भने ।
यो समूहले विशेषगरी मलेसिया केन्द्रीत गरेर हुण्डीको कारोबार गरेको देखिएको छ । यसबाहेक अन्य खाडी मुलुक लक्षित पनि हुण्डीको कारोबार भएका छन् ।
भाडामा प्रयोग
अहिले पक्राउ परेका २४ वर्षीय मुखिया भने आफैं हुण्डी कारोबारका मालिक भने नरहेको प्रहरीको भनाइ छ । २४ वर्षकै उमेरमा डेढ अर्बको कारोबार भेटिएपछि प्रहरीले यसको स्रोतसम्म पुग्ने गरी अनुसन्धान अघि बढाएको छ ।
तर प्रारम्भिक अनुसन्धानका क्रममा उनी हुण्डी कारोबार हुने रकमका मालिक नभएर भाडामा प्रयोग भएका व्यक्ति रहेको पाइएको एक अनुसन्धान अधिकृत बताउँछन् ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा मुखिया आफैं मालिक नभएर भाडामा प्रयोग भएका व्यक्ति हुन् । उनले निश्चित रकम लिएर हुण्डीको कारोबार गर्ने गरेको देखिन्छ’ ती अधिकृत भन्छन् ।
यो हुण्डीका मालिक अन्य व्यक्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाटै देखिए पनि ती व्यक्ति भने पक्राउ परेका छैनन् । यसमा संलग्न अन्य व्यक्ति र यसका मालिकसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको सीआईबीले बताएको छ ।
कसरी हुन्छ हुण्डी ?
हुण्डी आन्तरिक र अन्तरदेशीय दुवै हुन सक्छ । हाम्रो मुख्य चुनौती भनेको अन्तरदेशीय अर्थात् वैदेशिक हुण्डी हो । वैदेशिक हुण्डीका कारण बाह्य मुलुकबाट देशमा आउनुपर्ने जति परिमाणमा विदेशी मुद्रा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा अभिलेखको रुपमा पनि देखिँदैन ।
रेमिट्यान्स खाता घाटामा रहन्छ । अर्कातिर देशबाट गैरकानूनी रुपमा राष्ट्रिय सम्पत्ति वा पूँजी पलायन भएर विदेश जान्छ । कतिपय अवस्थामा विदेश गएको त्यही रकम वैदेशिक लगानीको रुपमा फेरि अर्को बाटोबाट नेपाल भित्रिएर सम्पत्ति शुद्धीकरणको माध्यम पनि बन्न सक्दछ ।
यसमा अवैधानिक धनलाई वैधानिक बनाउनेदेखि अपराधमा हुने आर्थिक कारोबार पनि हुण्डीबाट हुनसक्छ ।
के हुन्छ कारबाही ?
मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ मा हुण्डी सम्बन्धी कारोबार गर्न नहुने उल्लेख छ । ‘प्रचलित कानून बमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य व्यक्ति, उपकरण माध्यमबाट नेपालवाट विदेशमा वा विदेशबाट वा अन्य ठाउँमा रकम वा मूल्य स्थानान्तर वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार’लाई हुण्डीको रुपमा परिभाषित गरेको छ ।
कसैले कुनै व्यावसायिक कारोबारको वास्तविक हिसाब किताब नदेखिने गरी सो सम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने दिने गर्न नहुने उल्लेख छ । हुण्डी कारोबार गर्नेलाई बिगो र सोबाट बढे बढाएको सम्पत्ति जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था समेत छ ।






