काठमाडौं, असोज १ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गरेका छन्।
एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा भएको छलफलमा कार्यदलका तर्फबाट तयार भएका प्रतिवेदनलाई एउटै बनाउने विषयमा छलफल भइरहेको छ।
छलफलमा कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष एवं सदस्यहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङ सहभागी छन्।
त्यस्तै, महासचिव शंकर पोखरेल र सचिव भानुभक्त ढकाल पनि छलफलमा सहभागी छन्। कार्यदल बाहिरका नेताहरू प्रदीप ज्ञवाली र विष्णु रिमालसमेत बैठकमा सहभागी छन्।
आज कार्यदलको बैठक बस्ने पूर्वयोजना थियो। त्यसका लागि कार्यदलका संयोजक थापा, सदस्य पौडेल र सदस्य सचिव पोखरेललाई प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी दिइएको थियो।
तर संयोजक थापाले आफैंले प्रतिवेदन लेख्ने अडान लिएपछि कार्यदलभित्र कुरा मिल्न नसकेको बताइएको छ। समितिमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीले सम्बन्धित नेताहरूलाई गुन्डुस्थित निवासमा बोलाएर छलफल गरेका हुन्।
बैठकमा कार्यदलका छुट्टाछुट्टै प्रतिवेदनलाई कसरी एउटै दस्तावेज बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
बैठकमा असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ।






