चितवन, असोज ३ गते ।
कृषि तथा वन विज्ञान विश्व विद्यालयमा स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको सङ्ख्या बढेको हो ।
विश्व विद्यालयका उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार गत शैक्षिकसत्रमा एक हजार ५०८ ले प्रवेश परीक्षा दिएकामा यस वर्ष एक हजार ६८७ जनाले आज प्रवेश परीक्षा दिएका छन् ।
विश्व विद्यालयले देशका विभिन्न छ ठाउँबाट एकैसाथ प्रवेश परीक्षा लिएको हो । विगतका वर्षहरूमा काठमाडौं, हेटौँडा र चितवनको रामपुरमा मात्रै परीक्षा दिने व्यवस्था गरिएको थियो ।
यस वर्ष रामपुरबाट ५६८, काठमाडौंबाट ७०६, हेटौँडाबाट ६५, इटहरीबाट १४५, जनकपुरबाट ९१ र नेपालगञ्जबाट ११२ जनाले प्रवेश परीक्षा दिएका कट्टेलले जानकारी दिए । यस वर्ष फारम भर्नेको सङ्ख्या एक हजार ८०१ रहेकामा ११४ जना परीक्षामा उपस्थित भएका छैनन् ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौ ठाउँमा ८५४ जना विद्यार्थीले पढ्न पाउँछन् । यस्तै सम्बन्धन प्राप्त आठ वटा निजी क्याम्पसमा ४०० जनाले अध्ययन गर्ने अवसर पाउँछन् ।
ती सबै जोड्दा एक हजार २५४ जनाले अध्ययन गर्न पाउनेछन् । तीमध्ये १२ जना विदेशी विद्यार्थी पनि पर्दछन् । उनीहरू प्रवेश परीक्षामा सहभागी हुनुपर्दैन ।
उपकुलपति प्रा.डा. कट्टेलले यस वर्ष विद्यार्थीको सङ्ख्या बढेकाले आङ्गिक र निजी सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी पुग्ने बताए । गत वर्ष आठ वटा आङ्गिकमध्ये पाँच वटा विद्यार्थीको अभावमा नयाँ भर्ना भएका थिएनन् । निजी आठ वटा क्याम्पसले विद्यार्थी नपाउँदा बन्द छन् । कट्टेलले विद्यार्थी नपुगे आङ्गिक क्याम्पसलाई अनुसन्धान, नवपर्वतन र प्रसार केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । विद्यार्थी नपुगेमा २१ दिनभित्र पुनस् प्रवेश परीक्षा समेत गरिने उनले बताए ।
प्राडा। कट्टेलले देशभरका क्याम्पसमार्फत प्रचारप्रसार गरी देशका छ ठाउँमा प्रवेश परीक्षा गरिएको र पाठ्यक्रम परिमार्जनसँगै गुणस्तरमा विकास हुँदा विद्यार्थीको आकर्षण बढेको बताए ।
यस विश्वविद्यालयमा कृषि, पशु चिकित्सा विज्ञान तथा पशुपालन, मत्य विज्ञान र वन विज्ञान, विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिको अध्यापन हुन्छ ।
कृषि सङ्कायका डिन प्रा डा सुन्दर तिवारीले विदेशी विद्यार्थी पाँचको आवेदन प्राप्त भएको बताए । ती विद्यार्थी भारत र बंगलादेशका हुन् । परराष्ट्र मन्त्रालय मार्फत् अन्य विद्यार्थी आउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयमा तीन सङ्कायमा गरी विदेशी १२ जना विद्यार्थी यस शैक्षिक सत्रबाट भर्ना गरिँदै छ । तीमध्ये पाँच जना कृषि, तीन पशु चिकित्सा, एक मत्स्य विज्ञान र तीन जना वन विज्ञानका रहेका छन् ।






