जनकपुरधाम, असोज ३ गते ।
महोत्तरीको बर्दिवासबाट प्रहरीले पिकअपको फल्स बटमभित्र लुकाएर ओसारपसार गरिरहेको १९६ किलो गाँजा सहित दुई जनालाई पक्राउ परेका छन् ।
शुक्रवार इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बर्दिवास नगरपालिका–१ स्थित बा ५ च ८००१ नम्बरको पिकअपलाई रोकी जाँच गर्दा लागुऔषध गाँजा सहित पिकअपका चालक धादिङ गल्छी गाउँपालिका–२ खरीढुंगा बस्ने २६ वर्षीय रोशन भुजेललाई नियन्त्रणमा लिइएको जनाएको छ ।
अनुसन्धानका क्रममा पिकअप चालकसँग प्र ३–०३–००१ प ३५२८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलका चालक मकवानपुर मनहरी गाउँपालिका–७ का ३६ वर्षीय वीरेन्द्र स्याङ्बोले पटक–पटक सम्पर्क गरेको पाएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले दुवै जनामाथि सोधपुछ गरेपछि शनिवार मिस्त्री बोलाएर पिकअपको ढालाको भाग जाँच गरेको थियो । ढालाको भागमा फल्स बटम बनाइएको शंका लागेपछि काटेर हेर्दा प्लास्टिकमा प्याकिङ गरिएका १५ पोकामा १९६ किलो गाँजा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
गाँजासहित पिकअप, मोटरसाइकल र नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






