रास्वपा मधेश विवाद : अडिट समितिले संक्षिप्त प्रतिवेदन बुझायो

काठमाडौं, असोज ४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मधेश विवादबारे छानबिन गर्न गठन भएको अडिट टिमले आफ्नो संक्षिप्त प्रतिवेदन बुझाएको छ । सहमहामन्त्री हरि ढकाल नेतृत्वको अडिट टिमले आइतबारको सचिवालय बैठकमा छानबिन प्रतिवेदन बुझाएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

‘मधेश प्रदेशमा अधिवेशन गर्नुपर्ने भएको छ । मधेश प्रदेशमा हाम्रा आन्तरिक समस्याहरू भएको कारणले गर्दा सहमहामन्त्री हरि ढकालको नेतृत्वमा त्यहाँ छानबिन गर्ने अडिट टिम गएको थियो । उहाँहरूले आफ्नो प्रतिवेदन बुझाउनुभएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता खरेलले भने ।

छानबिनको विस्तृत प्रतिवेदन भने अर्को बैठकमा प्रस्तुत हुने उनले जानकारी दिए । उनले भने, ‘विस्तृत प्रतिवेदन भने अर्को बैठकमा तयार पारेर बुझाउने कुरा उहाँले भन्नुभएको छ ।’

रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो साता चितवनमा सम्पन्न भएको थियो । तर मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझैसम्म अधिवेशन हुन सकेको छैन ।

यही सन्दर्भमा छानबिन गर्न भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीका सहमहामन्त्री ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको थियो ।

समितिको सदस्यमा नेताहरू सुरेन्द्र चौधरी, अशोककुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवाल थिए ।

उक्त समितिले सम्बन्धित जिल्लामा भ्रमण गरेर छानबिन गरेर फर्किएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको