काठमाडौं, असोज ५ गते ।
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा सोमबार बिहान ११ बजे बस्ने छ ।
केन्द्रीय कमिटी बैठकअघि च्यासलमा बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक बस्ने छ ।
प्रचार विभाग प्रमुख आचार्यका अनुसार सचिवालय बैठकमा आइतबार कार्यदलले पेस गरेको एकीकृत प्रतिवेदनमाथि छलफल हुनेछ भने केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गर्ने छ ।
गत २१ फागुनको निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको थियो । एमालेका केपी शर्मा ओली नेतृत्वबाट अब पार्टी अघि नबढ्ने भन्दै नेताहरूले प्रश्न उठाएपछि पार्टीले नै उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाएकको थियो । उक्त कार्यदलको तर्फबाट देशव्यापी सुझाव संकलन गरिएको थियो । उक्त सुझावका आधारमा महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा नेतृत्व फर्नेसम्मको आसय आएपछि संयोजक थापाले पनि छुट्टै प्रतिवेदन बनाएका थिए । थापाले ओलीको रक्षा गरेर जानुपर्ने धारणा सहितको प्रतिवेदन ल्याएका थिए । दुईथरी प्रतिवेदन आएपछि त्यसमा पनि विवाद भएको थियो । महासचिवको प्रतिवेदनमा चित्त नबुझाएका ओलीले बादलसहितको प्रतिवेदन मिलाएर एकीकृत प्रतिवेदन बनाउने अनौपचारिक जिम्मा नेता प्रदीप ज्ञवालीलाई दिएका थिए ।
ज्ञवालीले २९ पृष्ठ लामो प्रतिवेदन बनाएका थिए । त्यहाँ उनले ओलीलाई नेतृत्वबाट हटाउनेसम्बन्धी कुनै पनि प्रसंग राखेका थिएनन् । तलबाट आएका सुझावहरू सबै अनुसूचीमा राख्ने उनी डकुमेन्ट तयार गरेका थिए ।
तीन वटै डकुमेन्टहरूमा आधारित रहेर आइतबार दिउँसो कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिई सचिवालय बैठकमा पेस गरेको थियो ।






