३३औँ विश्व अल्जाइमर्स चेतना दिवस मनाइयो

रौतहट, असोज ६ गते ।

‘जति छिटो थाहा पाउँछौँ, त्यति धेरै गर्न सक्छौँ’ भन्ने सन्देशसहित ३३औँ विश्व अल्जाइमर्स चेतना दिवस रौतहटमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

स्वास्थ्य कार्यालय गौरको आयोजनामा सोमबार स्वास्थ्य कार्यालयको तालिम हलमा आयोजित कार्यक्रममा अल्जाइमर्स रोगको समयमै पहिचान, प्रारम्भिक लक्षण तथा यसको व्यवस्थापनका उपायबारे छलफल गरिएको हो ।

कार्यक्रम स्वास्थ्य कार्यालय गौरका प्रमुख राजेश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गौर प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक ठाकुर र मेडिकल अधिकृत डा। शशि कुमार गुप्ता लगायतको उपस्थिति थियो। ज्येष्ठ नागरिक जिल्ला संघका प्रतिनिधि तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा अल्जाइमर्सलाई केवल स्मरणशक्ति कमजोर हुने समस्या मात्र नभई व्यक्तिको दैनिक जीवन, पारिवारिक सम्बन्ध र हेरचाहमा समेत प्रभाव पार्ने अवस्थाका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको थियो । विशेषगरी उमेर बढ्दै जाँदा देखिन सक्ने बिर्सने समस्या र अल्जाइमर्सका प्रारम्भिक संकेतबीच समयमै ध्यान दिन सके उपचार तथा व्यवस्थापनमा सहजता आउने विषयमा चर्चा गरिएको थियो ।

विशेषज्ञहरूले रोगको प्रारम्भिक पहिचानसँगै नियमित स्वास्थ्य परीक्षण, सक्रिय जीवनशैली, सामाजिक सहभागिता र परिवारको सहयोग ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण हुने बताएका थिए ।

नेपालमा पनि ज्येष्ठ नागरिकको संख्या बढ्दै जाँदा अल्जाइमर्सलगायत स्मरणशक्तिसम्बन्धी समस्याप्रति परिवार र समुदायस्तरमै सचेतना बढाउनुपर्ने आवश्यकता देखिएको ।

कार्यक्रमका सहभागीहरूले अल्जाइमर्सबाट प्रभावित व्यक्ति तथा परिवारलाई उपेक्षा नगरी आवश्यक स्वास्थ्य सेवा, सम्मान र भावनात्मक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्राविधिक सहयोग गौर प्रादेशिक अस्पताल र ज्येष्ठ नागरिक जिल्ला संघ, रौतहटले गरेका थिए । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको