काकाकुल मधेश : सोती खोलाको मुहान अतिक्रमणको चपेटामा

सर्लाही, असोज ६ गते ।

जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीका प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेका छन् । पानीका मुहान र जैविक संरचनामाथिको मानवीय अतिक्रमणले समस्या मात्रै निम्त्याएको छैन, वातावरण संरक्षणमा समेत चुनौती थपिएको छ। पानीका स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखिन थालेको छ।

सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलालाई पछिल्ला केही वर्षदेखि सोती खोलामा बढेको अतिक्रमणको चिन्ताले सताउन थालेको छ। उनको घरबाट करिब सय मिटरको दूरीमा एक दशकअघिसम्म फराकिलो सिमसार क्षेत्र थियो। झण्डै १६ बिघामा फैलिएको उक्त सिमसार अर्थात् सोतीको मुहान अहिले अतिक्रमणका कारण हराइसकेको छ। ‘यहाँ ठूलो सिमसार क्षेत्र थियो’, उनले स्मरण गर्दै भने, ‘वर्षातको पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो। हिउँदभरि भूमिगत ९जरुवा० पानी निस्किएर सोती बग्थ्यो। अहिले त्यो सिमसार छैन। पानी त कहाँबाट आउनु ? अहिले खोला सुकिसकेको छ।’

अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोती बरहथवा नगरपालिका प्रवेश गर्छ। विगतमा फराकिलो भएर बग्ने सोतीलाई बरहथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो, ढुङ्गा र ग्राभेल हालेर पुर्ने क्रम तीव्र बनेको छ। यसले खोलाको मौलिक स्वरूप मात्र बदलिएको छैन, जैविक विविधता पनि हराउँदै गएको छ।

आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउनसमेत प्रयोग गर्ने गरेको बरहथवा नगरपालिका–९, मूर्तियाका विश्वनाथ महतोले बताए । ‘यो सोती देख्दा आज रोइरहेको भान हुन्छ’, उनले भने, ‘यो हाम्रो धार्मिक आस्थासँग जोडिएको छ। खोलाको जैविक विविधतामाथि निरन्तर आक्रमण भइरहेको छ। हामीले यसैमा डुबुल्की मार्दै बालापन बिताएका हौँ। केही वर्ष पहिलेसम्म पशुबस्तु नुहाउनेदेखि भातभान्सासम्म यसैको भर थियो। अहिले हरेक वर्ष सोतीको सतह घट्दै गएको छ। आकार खुम्चँदै गएको छ।’

सोती खोलालाई स्थानीयले माईका रूपमा पुज्ने परम्परा रहेको उनले जानकारी दिए । वर्षमा दुई पटक यसै नदीमा निराहार व्रत बसेर छठ पर्व मनाउने गरिन्छ। विगत केही वर्षयता सोतीको मुहानदेखि झण्डै चार किलोमिटर क्षेत्रसम्म पानी पलाउने क्रम क्रमशः बन्द हुँदै गएको स्थानीयको अनुभव छ। जरुवा पानीको मुहान भएकाले गर्मीमा चिसो र जाडोमा तातो हुनु सोतीको विशेषता रहेको स्थानीय बताए।

अतिक्रमणका कारण पानीको स्रोत कम हुँदै गएपछि सोती खोलाले आफ्नो जैविक स्वभाव परिवर्तन गर्दै गएको स्थानीयको अनुभव छ। खोलाको प्राकृतिक स्वरूपमा बाधा पुर्‍याइएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। तैपनि अनेक बहानामा खोलामाथिको अतिक्रमण नरोकिएको स्थानीय युवा सोनुकुमार यादवको गुनासो छ। झिँगे, बामलगायतका माछा तथा पौष्टिक आहारका रूपमा प्रयोग हुने घुँगीलगायत जलचर पनि सोतीसँगै चपेटामा परेका छन्।

सिमसार क्षेत्रबाट उत्पत्ति हुने सोती खोला बागमती नगरपालिका–९ बाट सुरु भएर बरहथवा नगरपालिका, बसबरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर वाग्मती नदीमा मिसिन्छ। खोलाले यहाँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ। अतिक्रमणका कारण सङ्कटमा परेको सोतीसँगै भोलिका दिनमा आधा दर्जन पालिकाका उर्वर भूमि सिँचाइ अभावका कारण बन्जर बन्ने जोखिम बढेको छ।

खोलामा एक दर्जनभन्दा बढी बाँध बाँधिएको छ। ती बाँधबाट नहर निर्माण गरी खेतमा बाह्रै महिना सिँचाइको व्यवस्था गरिएको छ। तर, खोलामा पानीको सतह घट्दै जाँदा सिँचाइका लागि पानीको अभाव हुन थालेको छ ।

पानीको अभावका कारण स्थानीय किसानबीच विवादसमेत हुने गरेको बरहथवा नगरपालिका–८, टाडीका विक्रम यादवले सुनाए । वर्षात सुरु भएपछि मात्रै नदीमा केही समय पानी बग्ने गरेको उनले बताए ।

सोतीको पानी बरहथवाको टाँडी बाँध, सोती खोला सिँचाइ बाँध, हिरापुर ब्यारेज, मानपुर ब्यारेज, रामनगर ब्यारेज, मनुसमारा बाँध र सुदामा ब्यारेजमा थुनेर नहर र कुलोमा लग्ने गरिएको छ। अन्य स्थानमा ससाना बाँध बाँधेर सिँचाइको व्यवस्था गरिएको छ। केही बाँधमा बाह्रै महिना पानी रहने भए पनि केही बाँध हिउँद सुरु भएपछि सुक्ने गरेको स्थानीयको भनाइ छ ।

खोलामा पानी कम हुँदै गएपछि पछिल्लो तीन वर्षदेखि खेतमा डिप बोरिङ गरेर सिँचाइ गर्न थालेको यादवले सुनाउनुभयो। नजिकै खोला भए पनि रातभर जाग्राम बसेर डिप बोरिङबाट पानी पटाउनुपर्ने अवस्थामा किसान पुगेका छन्।

जलचर प्राणीको बासस्थान, वनस्पति, जीवजन्तुसँगै मानिसको जीवनका लागि महत्वपूर्ण पानी बग्ने खोला बचाउनेतर्फ कसैको ध्यान नगएकामा उहाँ चिन्तित हुनुहुन्छ। सोती खोला बरहथवा नगरपालिकाको बीच भागबाट बग्ने निकास (ड्रेन) समेत हो। वर्षातमा बरहथवा नगर क्षेत्रमा परेको पानीलाई खोलाले निकास दिने गरेको छ।

जैविक, वातावरणीय र धार्मिक अस्तित्व नै सङ्कटमा पर्ने गरी खोला किनारमा विभिन्न गतिविधि भइरहेका छन्। जरुवा पानी निस्कने ठाउँमा पार्क, धर्मशाला तथा विभिन्न जात र समुदाय विशेषका सार्वजनिक भवन निर्माण भएका छन्। खोला अतिक्रमण रोक्न पालिकाले करिडोर निर्माण गरेको बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिए ।

यसरी निर्माण गरिएको करिडोरका कारण खोला अतिक्रमण रोकिने र संरक्षण हुने उनको भनाइ छ। खोला किनारमा पालिकासँग समन्वय नै नगरी प्रदेश र सङ्घीय सरकारले योजना पठाएर समस्या पारेको उनको कथन छ। ‘खोला किनारमा तारजाली गर्नुपर्‍यो, बाटो बनाउनुपर्‍यो, खाली जमिनमा सार्वजनिक भवन बनाउनुपर्‍यो भन्दै आउनुहुन्छ’, प्रमुख कटुवालले भनिन्, ‘रोकौँ, गर्न दिएन भन्नुहुन्छ। विरोध हुन्छ। हामीसँग प्रदेश र सङ्घीय सरकारले समन्वय नै गर्नुहुन्न। संरचना निर्माण भइसकेपछि मात्र थाहा हुन्छ। हामीले के गर्नु ?’

बरहथवा नगरपालिकाको नदी किनारमा फनपार्क, सार्वजनिक भवन र खुला व्यायामशाला निर्माण भएका छन्। खोला संरक्षण, छठ घाटलगायतका शीर्षकमा सोतीको मौलिकता र विशेषताको वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी कङ्क्रिट ढलान गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐनले प्राकृतिक स्रोत, धार्मिक सम्पदा र जैविक विविधताको संरक्षण तथा संवर्द्धनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। सोअनुरूप काम हुन नसक्दा वातावरण, जैविक विविधता र वनस्पति सङ्कटमा पर्दै गएको छ। रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको