दान रकममा गडबडीबारे छानबिन : सिसीटिभीमा १०५ घटना देखिए

अयोध्या, असोज ६ गते ।

भारतको अयोध्यास्थित राम मन्दिरमा चढाइएको दान रकम तथा बहुमूल्य सामग्रीमा कथित अनियमितता भएको विषयमा छानबिन गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी) ले आफ्नो अनुसन्धानसम्बन्धी महत्वपूर्ण विवरण सर्वोच्च अदालतमा पेस गरेको छ ।

एसआईटी का अनुसार दान रकम गन्ने कोठाबाट अनुमति नलिई पैसा हटाउने वा लुकाउने प्रयास भएका १०५ वटा घटना सिसी टिभी फुटेजबाट देखिएका छन् । घटनासम्बन्धी अनुसन्धानका क्रममा अहिलेसम्म १७३ जनाको बयान लिइएको पनि एसआईटीले अदालतलाई जानकारी गराएको छ । एसआईटीले आगामी २५ सेप्टेम्बरसम्म आरोपपत्र (चार्जसिट) दायर गर्ने तयारी भइरहेको जनाएको छ ।

बिना रसिदका ८६ बहुमूल्य सामग्री

छानबिनका क्रममा ८६ वटा बहुमूल्य सामग्री बिना रसिद दान गरिएको भेटिएको एसआईटीले जनाएको छ । यस्तै, टीसीएस सफ्टवेयरमार्फत तयार गरिएका ८०३ वटा बहुमूल्य सामग्रीका रसिद पनि प्रमाणित गरिएको छ । एसआईटीले राम मन्दिर ट्रस्टका अभिलेख तथा भारतीय स्टेट बैंक (एसबीआई) को लकरमा राखिएका बहुमूल्य सामग्रीको भौतिक परीक्षणसमेत गरेको जनाएको छ ।

चाँदीका सामग्रीमा अनियमितता नदेखिएको दाबी

दानमा प्राप्त चाँदीसम्बन्धी विभिन्न समाचार तथा उजुरीमाथि समेत एसआईटीले अनुसन्धान गरेको थियो। अनुसन्धानमा २०० किलो चाँदीका इँटा, ३८ किलो २८८ ग्राम चाँदी, चाँदीको हार, चरण पादुका तथा रामचरितमानस लगायतका दान सामग्रीबारे छानबिन गरिएको थियो । सम्बन्धित व्यक्तिसँगको सोधपुछ र उपलब्ध अभिलेख परीक्षणपछि यी सामग्रीमा कुनै अनियमितता नदेखिएको क्क्ष्त् को निष्कर्ष रहेको बताइएको छ।

९४४ किलोभन्दा बढी सेतो धातु पगाल्न पठाइयो 

एसआईटीले ट्रस्टले ९४४.४११ किलो सेतो धातु पगाल्न भारतीय सुरक्षा मुद्रण तथा टकसाल निगम लिमिटेडलाई पठाएको जानकारी पनि अदालतमा दिएको छ । उक्त प्रक्रियासँग सम्बन्धित अभिलेखसमेत अनुसन्धान टोलीले परीक्षण गरेको जनाएको छ ।

सिसी टिभी फुटेज, रसिद, ट्रस्टका अभिलेख, बैंक लकर तथा बहुमूल्य सामग्रीको भौतिक परीक्षणलाई अनुसन्धानको आधार बनाइएको एसआईटीले जनाएको छ ।

अनुसन्धानका क्रममा केही संदिग्धको पहिचानसमेत गरिएको र कथित अनियमितता कति पटक तथा कुन तरिकाबाट भएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको बताइएको छ । सर्वोच्च अदालतले एस आई टी को प्रतिवेदनलाई अभिलेखमा राखेको छ । अब २५ सेप्टेम्बरसम्म प्रस्तावित आरोपपत्र पेस गर्ने भनिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको