सिरहा, असोज ६ गते ।
मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समितिअन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ।
उपसमितिमा सांसद तपेश्वर यादव, डा मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य रहेका छन्।
उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा विभिन्न आयोजनाको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको अध्ययन तथा मूल्यांकन गर्नेछ।
अनुगमनका क्रममा देखिएका विषयमा आवश्यक टिप्पणी र सिफारिससहित पूर्वाधार विकास समितिसमक्ष प्रतिवेदन पेस गरिने यादवले बताए ।
त्यस्तै, आयोजनामा सार्वजनिक सम्पत्तिको हिनामिना भए–नभएको, प्रचलित ऐन, नियम तथा सम्झौताअनुसार काम भए(नभएकोसमेत अध्ययन गरिनेछ ।
सम्बन्धित आयोजनाका प्रतिवेदन, करार सम्झौता, लेखा तथा अन्य कागजात अध्ययन गर्नुका साथै आयोजना स्थलको स्थलगत अनुगमन र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिनेछ ।
आवश्यकताअनुसार विज्ञ, विशेषज्ञ तथा अनुसन्धानकर्तासँग समेत परामर्श गरी उपसमितिले प्रतिवेदन तयार गर्नेछ। उपसमितिको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ ।






