काठमाडौं, असोज ८ गते ।
लगातारको वर्षापछि खसेको पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीको प्रधान कार्यालयले बिहीबार बिहान साढे ७ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न स्थानमा लेदो र ढुङ्गासहितको पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएका हुन् ।
प्रहरीका अनुसार खोटाङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ६ः४० बजे हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौतेखोलामा ढुङ्गासहित पहिरो खसेपछि यातायात सेवा अवरुद्ध हुन पुगेको हो ।
यसैगरी, अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक पनि पहिरोका कारण बन्द भएको छ। बिहीबार बिहान ७ः०९ बजे पाणिनी गाउँपालिका–२ स्थित ढुङ्ग्रेखोला नजिकै लेदोसहितको पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खण्डहरू खुलाउन र यातायात पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको छ । न्यूजकारखाना






