रौतहट, असोज १२ गते ।
रौतहटमा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।
चन्द्रपुर नगरपालिका–७ स्थित रंगपुर साझेदारी वन क्षेत्रमा आइतबार राति संयुक्त वन गस्ती टोलीले काठसहित स्थानीय एक जनालाई नियन्त्रणमा लिएको हो।
नयाँबस्ती कटानीदेखि उत्तरतर्फ वन क्षेत्रमा राति करिब ९ बजे गस्ती गर्ने क्रममा ती व्यक्ति सालको गोलिया काठ साइकलमार्फत ओसारपसार गरिरहेको अवस्थामा पक्राउ परेको वन कार्यालयले जनाएको छ।
गस्ती टोलीले उनको साथबाट साल जातको ५ थान गोलिया काठ, २४.७० क्युबिक फिट, ३ थान साइकल र १ थान पिन्चा (आरा) बरामद गरेको छ।
पक्राउ परेका व्यक्ति चन्द्रपुर–७ नयाँबस्ती कटानीका स्थानीय भए पनि वन कार्यालयले उनको नाम सार्वजनिक गरेको छैन।
पक्राउ परेका व्यक्ति तथा बरामद काठ र अन्य सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ।
वन क्षेत्रमा हुने अवैध कटान तथा काठ चोरी–तस्करी नियन्त्रणका लागि रातिको समयमा समेत गस्ती र निगरानीलाई तीव्रता दिइएको वन कार्यालयले जनाएको छ।
अभियानमा डिभिजन वन कार्यालय रौतहट, चन्द्रपुर सव–डिभिजन वन कार्यालय, रंगपुर साझेदारी वन, सशस्त्र प्रहरी बेस सन्तपुर तथा प्रहरी चौकी बनबहुअरी र सन्तपुरका सुरक्षाकर्मीको सहभागिता रहेको थियो। न्यूज कारखाना






