रौतहट, असोज १२ गते ।
लालबकैया नदीमा बढ्दो जलस्तरका कारण तटबन्ध कटानको जोखिम बढेपछि मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोसहित उच्च सुरक्षा अधिकारीको टोलीले रौतहटको जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
आइतबार अबेर साँझ मौलापुर नगरपालिका–१ मर्यादपुर , बौधिमाई फतुवा पुल पुगेर मन्त्री महतोसहित नेपाली सेनाका मध्यपूर्वी पृतना महोत्तरीका पृतनापति उपरथी भुवन केसी, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले तटबन्धको अवस्था तथा भइरहेको मर्मत कार्यबारे जानकारी लिएका हुन्।
टोलीले लालबकैया नदीको कटान रोक्न भइरहेका प्रयास, तटबन्धको क्षति र सम्भावित जोखिमबारे स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणमा राष्ट्रिय अनुसन्धान विभाग मधेश प्रदेशका प्रमुख माधव तिम्लसिना, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित करिब ५०–६० जनाको सहभागिता थियो।
निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री महतोले लालबकैया तटबन्धको कटान रोक्न तथा क्षतिग्रस्त संरचनाको पुनः मर्मत गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
भारी वर्षाका कारण नदीको जलस्तर बढेपछि मौलापुर नगरपालिका–१ मर्यादपुरमा तटबन्ध कटान सुरु भएको छ। तटबन्धमा थप क्षति पुगे मौलापुर नगरपालिका–१ देखि ५ सम्मका साथै बौधिमाई नगरपालिकाका विभिन्न वडामा डुबानको जोखिम रहेको स्थानीय प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार मर्यादपुरको तटबन्धमा ठूलो क्षति भए मौलापुरसँगै गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवा क्षेत्र प्रभावित हुन सक्छन्। फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्धमा क्षति पुगे बाढीको पानी सदरमुकाम गौरतर्फ समेत पस्न सक्ने जोखिम रहेको अधिकारीहरूको आकलन छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तटबन्ध संरक्षण तथा मर्मतमा परिचालन गरिएको छ। राजपुर र मर्यादपुर क्षेत्रमा कटान भएका स्थानमा बाँस गाड्ने तथा बालुवाले भरिएका बोरा राखेर पानीको बहाव रोक्ने प्रयास भइरहेको छ।
क्षतिग्रस्त तटबन्धको तत्काल मर्मत तथा संरक्षणका लागि प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मलाई आवश्यकताअनुसार परिचालन गरिएको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले लालबकैया नदीको जलस्तर थप बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रशासनले नदी तथा तटबन्ध आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान तथा बाढीको सूचना प्राप्त भए तत्काल सुरक्षित स्थानमा जान प्रशासनले अनुरोध गरेको छ।
तटबन्ध संरक्षणका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीबीच भइरहेको समन्वयले सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुगेको अधिकारीहरूले बताएका छन्। न्यूज कारखाना






