रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा खुल्यो ट्रयाक

काठमाडौं, असोज १५ गते ।

रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खुलेको छ ।

ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावत समेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।

मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको उक्त खण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ ।

सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।

ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ ।

रसुवातर्फको बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिएका छन् । निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो । ट्रयाक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको