जनकपुरधाम, असोज १६ गते ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संगठन प्रधानाध्यापक संघ नेपाल (प्यान) को तेश्रो राष्ट्रिय शिखर सम्मेलन मंसिर ४ गतेदेखि जनकपुरधाममा आयोजना हुने भएको छ ।
प्यानको केन्द्रीय समितिले जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी आगामी मंसिर ४ देखि ६ गतेसम्म ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३’ आयोजना गरिने तयारी गरिएको जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा सहभागी प्यानका केन्द्रिय अध्यक्ष सुदाम गौतमले कार्यक्रम बारे जानकारी दिदै भने ‘सँगै सिकौँ, सँगै सोचौँ, सँगै योजना बनाऔँ, सँगै विद्यालय बनाऔँ’ भन्ने मूल नारासहित जनकपुरधाममा राष्ट्रिय शिखर सम्मेलन गरिने निर्णय गरिएको हो ।
सम्मेलनमा अन्तरष्ट्रिय सहित देशभरका सातै प्रदेशबाट १२ सयभन्दा प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख, जनप्रतिनिधि, शिक्षा मन्त्रालयका नीतिनिर्माता तथा विकास साझेदारहरूको प्रत्यक्ष सहभागिता रहने उनले बताए ।
विद्यालय एक्लैले गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न नसक्ने भएकाले शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा नीतिनिर्माताबीच साझा सहकार्य आवश्यक रहेको सम्मेलनको मुख्य अवधारणा रहेको उनले भने ।
सम्मेलनको प्रमुख उपलब्धिका रूपमा देशकै सामुदायिक विद्यालयहरुको शिक्षा सुधारको दीर्घकालीन मार्गचित्र तयार गर्ने लक्ष्य राखिएको छ । सम्मेलनमा व्यापक छलफल र निष्कर्षका आधारमा ‘जनकपुर घोषणापत्र’ जारी गरिनेछ । घोषणापत्रमा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकार कार्यान्वयनका लागि साझा प्रतिबद्धता समेटिने अध्यक्ष गौतमले भने ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त शिक्षाविद्हरूले मूल कार्यपत्र प्रस्तुत गरिनेछ भने संघीय तथा प्रदेश सांसदहरू र स्थानीय सरकारका प्रमुखहरूसँग विद्यालय शिक्षा विधेयक तथा नीतिगत चुनौतीबारे खुला बहस गरिनेछ । डिजिटल सिकाइ, विद्यालय प्रशासन, समावेशी शिक्षा, मानसिक स्वास्थ्य र नेतृत्व कलाजस्ता विषयमा विशेषज्ञ सत्र समेत सञ्चालन गरिने उनले बताए ।
सम्मेलनको अवसरमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय तह तथा सञ्चारकर्मीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । सातै प्रदेशबाट आधारभूत तहका ७ र माध्यमिक तहका ७ गरी १४ विद्यालयलाई ‘बेस्ट स्कुल अफ द इयर’ तथा आधारभूत तहका ७ र माध्यमिक तहका ७ गरी १४ प्रधानाध्यापकलाई ‘बेस्ट प्रिन्सिपल अफ द इयर’ पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, उत्कृष्ट गाउँपालिका ७, नगरपालिका ७ तथा महानगरपालिका÷उपमहानगरपालिकामध्ये २ स्थानीय तहलाई उत्कृष्ट स्थानीय तह सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।
शिक्षा पत्रकारितामा सक्रिय एक महिला र एक पुरुष सञ्चारकर्मीलाई ‘बेस्ट एजुकेसन जर्नालिस्ट अवार्ड’ तथा शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पु¥याउने एक विशिष्ट व्यक्तित्वलाई ‘नेसनल एजुकेसन अवार्ड’ प्रदान गरिने कार्यक्रम समेत रहेको उनले बताए । न्युज कारखाना






