काठमाडौं, असोज १८ गते ।
दसैंमा काठमाडौं उपत्यका छाड्नेलाई सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्योल बढेको छ ।
अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन् । खासगरी पोखरा, चितवन, भैरहवा जस्ता सहज र धेरै विकल्प भएका गन्तव्यका लागि अनलाइन टिकट उपलब्ध छन् ।
तर, दुर्गम र यातायात सहज नभएका गन्तव्यमा सरकार र व्यवसायीले औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुलाएका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष सरोज सिटौलाले हरेक दिनजसो आफूहरू सरकारी निकायसँग छलफलमै रहेको भए पनि टिकट खुलाउने विषय भने अझै अन्योलमै रहेको बताए ।
‘दुई–तीन दिन पछाडिका लागि टिकट बिक्री त भइरहेकै छ,’ उनले भने, ‘तर, दसैं सुरु भएपछिका दिनका लागि औपचारिक रूपमा बुकिङ खुलेको छैन, अनलाइन प्ल्याटफर्मबाट आफूखुसी बुकिङ भएको भए त्यो उहाँहरूले नै जिम्मा लिने विषय हो ।’
सामान्यतया यातायात व्यवस्था विभागले दसैंभरिका लागि रुट इजाजत खुला गर्दै अग्रिम बुकिङ गर्दै आएको थियो । यसपालि विभागले केही चरण सरोकारवालासँग छलफल समेत गरिसकेको छ । तर, टिकट बिक्रीको मिति तय गरेको छैन ।
पूर्वाधार विकास समितिले गरेको अनुमान अनुसार यस वर्ष दसैंमा मात्र १० लाखसम्म यात्रुले काठमाडौं छाड्ने अनुमान छ । व्यवसायीका अनुसार यो संख्या अझै माथि हुन सक्छ ।
जहाजका टिकट शतप्रतिशतसम्म बिक्री
उता, जहाजका टिकट भने करिब शतप्रतिशतसम्म बिक्री भइसकेको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार २८ असोजदेखि १ कात्तिक (१४–१८ अक्टोबर) सम्मका टिकट सबैजसो सेक्टरमा शतप्रतिशत बिक्री भइसकेका छन् ।
‘यस पटक हामीले माथिल्लो फेयरमा टिकट राखेनौं,’ उनले भने, ‘जसले गर्दा दसैं अगाडिका सिटको बिक्री तीव्र भयो ।’
ती दिनबाहेक र काठमाडौं फिर्ता हुन भने टिकट उपलब्ध रहेको उनले बताए । अहिले जहाजहरूमा ‘वानवे अकुपेन्सी’ हुन्छ । काठमाडौंबाट बाहिरिने यात्रु चाप अधिक हुन्छ । काठमाडौं भित्रिने जहाज भने कुनै दिन रित्तैसमेत उडाउनुपर्ने अवस्था हुन्छ ।
यती एयरलाइन्सका अनुसार उसका समेत ८० प्रतिशतमाथि टिकट बिक्री भइसकेका छन् । बाँकी केही टिकटमात्र अहिले उपलब्ध रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
पोखरा, विराटनगर, भैरहवा जस्ता पहाडी भेगका लागि ट्रान्जिट गन्तव्य मानिने विमानस्थलहरूमा यात्रुको बढी चाप रहेको उनले जानकारी दिए ।
सामान्यतया यी विमानस्थलमा अवतरण गरेपछि अहिले बढी समस्या रहेको पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ खण्ड र बीपी राजमार्ग समेत पार हुन्छ । यस वर्ष २५ असोजमा घटस्थापना छ । ३१ असोजमा फूलपाती र ४ कात्तिकमा विजयादशमी परेको छ ।
पूर्वाधार विकास समितिका अनुसार काठमाडौंबाट बाहिरिने यात्रु चाप घटस्थापना र फूलपातीको दिन अत्यधिक हुन्छ । फूलपातीमा भने सर्वाधिक संख्यामा यात्रु बाहिरिन्छन् ।






