सन्तोष गौतम
म्याग्दी, असोज २४ गते ।
दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो समय लगाएर बजारसम्म आइपुगेका उनीहरूलाई अब भेडाच्याङ्ग्रा समयमै बिक्री गर्न पाइने हो कि होइन भन्ने चिन्ताले सताएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा लिएर आएको हो । तीमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दसैँमा पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए ।
‘यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो’, बिकले भने, ‘डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकिनुपर्यो । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।’
टोलीले शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने योजना बनाएको छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग कस्तो हुन्छ र ल्याएका सबै भेडाच्याङ्ग्रा बिक्री गर्न पाइन्छ कि पाइँदैन भन्ने चिन्ता उनीहरूलाई छ । ‘ढिला भइसकेको छ । अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ’, बिकले भने ।
डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरा गएका हुन् । घरबाट हिँडेको २२ दिन भइसके पनि उनीहरूको यात्रा अझै सकिएको छैन ।
भेडाच्याङ्ग्रापालनलाई मुख्य पेसा बनाएका उनीहरू हरेक वर्ष दसैँको बजारलाई लक्षित गरी विभिन्न सहरमा पशु बिक्री गर्न पुग्छन् । वर्षभरि पालनपोषण गरेर हुर्काएका भेडाच्याङ्ग्राबाट राम्रो आम्दानी गर्ने उनीहरूको अपेक्षा हुन्छ । तर, यस वर्ष बाढीपहिरो र प्रतिकूल मौसमले यात्रामा थप सास्ती दिएको छ ।
डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिनसम्म पैदल यात्रा गरेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर बजारसम्म ल्याउनु सहज काम होइन । भिरपाखा, खोल्सा र साँघुरा बाटो पार गर्दै पशुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन किसानले लामो समय र मेहनत खर्चिनुपर्छ ।
‘भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो’, बुढाले भने ।
सडक अवरुद्ध हुँदा किसानलाई सास्ती
दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, यस वर्षको प्रतिकूल मौसम र सडक अवरोधले किसान तथा व्यापारी दुवैलाई प्रभावित बनाएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल देखिन्छ । उनीहरू पशु बिक्रीका लागि पोखरा, काठमाडौँलगायत सहरतर्फ जाने तयारीमा छन् ।
गत असोज ८ देखि ११ गतेसम्म भएको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनाएको थियो । सडक अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा पैदल खेदाएर ल्याउनेदेखि सवारीसाधनमा ढुवानी गर्ने कामसमेत प्रभावित भयो । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुपर्यो भने कतिपयले बाटो खुल्ने प्रतीक्षामा दिन बिताउनुपर्यो । यसले बजारसम्म पुग्ने समय लम्बिनुका साथै खर्चसमेत बढाएको छ ।
मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ । यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिएका कारण त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए ।
दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर आएका किसानका लागि अबको मुख्य चुनौती बजारसम्म पुग्नु मात्र होइन, ल्याएका पशु समयमै बिक्री गर्नु पनि हो
तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्ति गर्ने प्रमुख मार्ग मुस्ताङ बनेको छ । मुस्ताङ हुँदै ल्याइएका भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा र काठमाडौँ पठाउने क्रम जारी छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।
कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए । यस वर्ष मौसम र सडकको अवस्थाले आपूर्ति प्रभावित भएपछि गत वर्षको तुलनामा बजारमा कति भेडाच्याङ्ग्रा पुग्छन् भन्ने यकिन हुन सकेको छैन ।
ढुवानी खर्च बढ्दा खरिदबिक्रीमा असर
लामो यात्रा र सडक अवरोधका कारण भेडाच्याङ्ग्रा बजारसम्म पुर्याउने लागत बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ ।
बेनी नगरपालिका–९ का व्यापारी डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भएको थियो । ‘किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन’, उनले भने ।
व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार एउटा भेडा ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको छ । च्याङ्ग्राको मूल्य प्रतिगोटा करिब ४० हजार रुपैयाँ छ । बेनीमा आइपुग्दा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँसम्म पुगेको छ ।
बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाका अनुसार च्याङ्ग्राको उमेर र आकारले पनि मूल्य निर्धारणमा प्रभाव पार्छ । उनका अनुसार पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन् ।
“महँगो परे पनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ,” उनले भने ।
हिमाली क्षेत्रमा प्राकृतिक चरनमा हुर्किएका भेडाच्याङ्ग्राको मासुलाई दसैँको विशेष परिकारका रूपमा लिने गरिन्छ । त्यसैले मूल्य बढे पनि दसैँका बेला यसको माग हुने गरेको व्यापारी बताउँछन् । यद्यपि, यस वर्ष बजारसम्म ढिलो गरी आइपुग्नु र ढुवानी खर्च बढ्नुले किसान तथा व्यापारीको नाफामा असर पार्न सक्छ ।
मुस्ताङी भेडाच्याङ्ग्राको मुख्य बजार पोखरा र काठमाडौँ हुन् । यसबाहेक म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का व्यापारी प्रेम छन्त्यालले बताए ।
च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङका अनुसार च्याङ्ग्रापालन त्यहाँका धेरै किसानको मुख्य आयस्रोत हो । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानले च्याङ्ग्रापालनबाट मासु बिक्री गर्नुका साथै त्यसको शरीरबाट निस्कने भुवा पनि उपयोग गर्दै आएका छन् । च्याङ्ग्राको भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।
तर, च्याङ्ग्रापालन व्यवसाय चुनौतीमुक्त छैन । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र पशुलाई आहारको अभाव हुने समस्या छ । अर्कोतर्फ, हिउँदमा अत्यधिक हिमपात हुँदा चरन क्षेत्र हिउँले ढाकिने र आहार नपाएर भेडाबाख्रा मर्ने जोखिम पनि रहन्छ ।
यस्ता चुनौतीका बाबजुद हिमाली किसानले वर्षभरि च्याङ्ग्रा पालेर दसैँको बजारलाई मुख्य आम्दानीको अवसरका रूपमा लिने गरेका छन् । दसैँमा बिक्री गर्न सकिएमा वर्षभरिको मेहनतको प्रतिफल प्राप्त हुने उनीहरूको अपेक्षा हुन्छ । त्यसैले मौसम अनुकूल हुने र सडक सहज रहने समयको प्रतीक्षा गर्दै उनीहरू पशु लिएर बजारतर्फ लाग्छन् ।
यस वर्ष भने लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ । बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ भने ढुवानी तथा बाटोमा हुने खर्चले आम्दानी घटाउने चिन्ता पनि थपिएको छ ।
दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर आएका किसानका लागि अबको मुख्य चुनौती बजारसम्म पुग्नु मात्र होइन, ल्याएका पशु समयमै बिक्री गर्नु पनि हो । महिनौँको मेहनत र कष्टकर यात्रापछि बजार आइपुगेका किसानले उचित मूल्यमा भेडाच्याङ्ग्रा बिक्री गर्न पाए मात्र उनीहरूको अपेक्षा पूरा हुनेछ । रासस






