प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौं, असोज २५ गते ।

काठमाडौंको बूढानीलकण्ठस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र महिला शिक्षकमाथि दुर्व्यवहार तथा कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने ३६ वर्षका निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन नै बस्ने ४४ वर्षका ध्रुवप्रसाद घिमिरे रहेका छन्।

प्रहरी वृत्त बौद्धका अनुसार असोज २२ गते बिहान करिब १०स्३४ बजे बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित विद्यालय प्राङ्गणमा शिक्षकमाथि कुटपिट भइरहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानका क्रममा निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई लक्ष्य गर्दै अश्लील शब्द प्रयोग गर्नुका साथै गालीगलौच र धाकधम्की दिई अभद्र व्यवहार गरेको पाइएको छ।

सोही क्रममा ध्रुवप्रसाद घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरी कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको