काठमाडौं, असोज २८ गते ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ६ः०० बजेसम्म १ हजार ४ सय ५८ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३ सय ८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५६ जनाको शव फेला परेको हो। साथै, २ जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।
फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३ सय ३६ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि शवका १ हजार ३ सय ३७ वटा र आफन्तका २ हजार ९० गरी कुल ३ हजार ४ सय २७ वटा डीएनए नमुना सङ्कलन गरिएको छ।
जसमध्ये १ हजार ३ सय १२ वटा शवहरूको र २ हजार ८१ जना आफन्तहरूको गरी कुल ३ हजार ३ सय ९३ वटा डीएनए नमुना प्रोफाइलिङ गरिएको छ। साथै, पहिचान नभएका १ हजार ४ सय ३८ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य जारी छ। यसैगरी, विभिन्न जिल्लाहरूमा रहेका होल्डिङ सेन्टरमा ९ सय ९५ जना व्यक्तिहरूलाई राखिएको छ। न्यूज कारखाना






