कांग्रेस सहमहामन्त्रीमा फिरदोस आलम निर्वाचित

काठमाडौं, असोज २९ गते ।

नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

उनी कांग्रेसको १५औं महाधिवेशनबाट मधेशी क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले सहमहामन्त्री पदमा निर्वाचित भएकोभन्दै फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।

उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् ।

फिरदोस रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए ।

फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डका कारण चर्चामा आएका थिए ।

उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले अफतावलाई २०८१ वैशाखमा जन्मकैदको सजाय सुनाएको थियो । तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो ।

सफाइ पाएपछि जेलमुक्त भएका आलमको २१ कात्तिक २०८२ सालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको