जनकपुर, कार्तिक ५ गते ।
आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको छ । बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ ।
कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन् । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ । विशेषगरी ससुराली, माइत, मावल वा मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।
आजबाट दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बिहानैबाट बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन् ।






